२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बिपी प्रतिष्ठानको कायममुकायम उपकुलपतिमा डा. कार्की

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा डा. प्रह्लाद कार्की कामयमुकायम उपकुलपति नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति मन्त्री मोहनबहादुर बस्नेतले डा. कार्कीलाई कायममुकायम उपकुलपति नियुक्त गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी पदबाट निलम्बित भएपछि रिक्त रहेको उपकुलपति पदमा सहकुलपति एवं स्वास्थ्य मन्त्री बस्नेतले डा. कार्कीलाई कामु उपकुलपति नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले जानकारी दिए।  

सचिव डा. पोखरेलका अनुसार कानुनी सल्लाहकारसँग रायसल्लाह लिएर नै बाँधा फुकाउन सहकुलपतिस्तरीय निर्णय गरिएको हो। ‘सहकुलपतिको निर्णय हो। निमित्त र कायममुकायम नियुक्तिको व्यवस्था छ। बाधा फुकाउ गर्न पाइन्छ। कानुनी सल्लाहकारसँग राय लिएर नै निर्णय भएको हो,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘कानुनी प्रक्रियाबाट उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी फेरि आउनुभयो भने उहाँले छोड्नुहुन्छ।’

कामु उपकुलपतिमा नियुक्त डा. कार्की प्रतिष्ठानका सिनियर चिकित्सकमध्येका एक हुन्। उनी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। प्रतिष्ठानका उपकुलपति डा. गिरीले आधिकारिक निकायबाट प्राप्त नगरेको प्राध्यापक पद दुरूपयोग गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत माघ पहिलो साता मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए। उपकुलपति डा. गिरी निलम्बित भएपछि माघ तेस्रो साता शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए।

पछिल्लो समय बिपी प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा राखेर स्वायत्तता खोस्न लागेको र आंगिक मेडिकल कलेजका रूपमा मात्र बनाउन लागेको भन्दै धरानका राजनीतिक दल, नागरिक अगुवाहरू आन्दोलित भएका थिए। बिपी बचाउ संघर्ष समिति गठन गरेर राजधानी पुगेको टोलीले प्रधानमन्त्री तथा कुलपति, सहकुलपति, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेर छाता ऐनबाट प्रतिष्ठानलाई हटाउन आग्रह गरेका थिए। साथै संघर्ष समितिले प्रतिष्ठानको स्वायत्तता कायम राख्न तत्काल उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको थियो।  

स्वास्थ्य मन्त्री तथा सहकुलपतिले कायम मुकायम उपकुलपति नियुक्ति गर्दा प्रतिष्ठानको स्वायत्तता जोगिएको नागरिक अगुवा एवं बुद्धिजीवी डा. राजेन्द्र शर्माको भनाइ छ। ‘सरकारले भिसी नियुक्ति प्रतिष्ठानलाई छाता ऐनमा लैजानका लागि नगरेको हो भन्ने थियो। त्यसैले संघर्ष समितिले पनि चाँडै भिसी नियुक्ति गर्नुपर्छ भन्ने माग राखेको थियो,’ डा. शर्माले भने, ‘कम्तीमा कायममुकायम भिसी नियुक्ति गर्दा मात्रै पनि न्याम्समा गाभ्न लागेको हो कि भन्ने शंका निवारण भएको छ। कामु भए पनि भिसी आए, यो सकारात्मक छ। डा. ज्ञानेन्द्र गिरी मुद्दा लागेर निलम्बन मात्र भएकाले पनि कामु दिनु परेको हुनसक्छ।’

प्रकाशित: १८ असार २०८० ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App