१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

११ महिनादेखि बसेन कांग्रेस बैठक

सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन।  

राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो। राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ। तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन। विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ। तर बैठक बोलाउन सभापति देउवाले मात्र होइन, कांग्रेसका अन्य नेताहरूले पनि खासै रुचि देखाएका छैनन्। केही आवश्यक निर्णय लिनुपरे कार्यसम्पादन समितिमार्फत गर्ने गरिएको छ। कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ।

त्यति मात्र होइन, महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानले गरेको छ। तर कांग्रेसले अहिलेसम्म पार्टीको केन्द्रीय कोषाध्यक्षसमेत मनोनीत गर्न सकेको छैन भने केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन। विभागहरूको अवस्था अहिले पनि लथालिंग छ। उपसभापति नेतृत्वमा प्रशिक्षण र प्रतिष्ठान विभागका साथै प्रचार विभागबाहेक अन्य गठन हुन सकेको छैन।

पार्टीका भ्रातृ संगठनहरूको अवस्था उस्तै छ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ संगठनहरूलाई केही दिनअघि पूर्णता दिने सभापति देउवाले तयारी गरेका थिए। तर पार्टीभित्रको इतर पक्षसँग सहमति जुट्न नसक्दा नेपाल महिला संघको केन्द्रीय समिति गठन भए पनि अन्य भ्रातृ संगठनका केन्द्रीय समिति अपूर्ण छन्। सोही समयमा केन्द्रीय सदस्य आचार्यले पार्टीको बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठक साउनको पहिलो सातापछि बसेको छैन।

प्रकाशित: १२ असार २०८० ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App