१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जेलबाहिरबाट जेलभित्रको प्रशासनमा हस्तक्षेप !

गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले जेलमुक्त भएपछि केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार आफ्नो रुचिअनुसार नियुक्ति गर्न दबाब दिने गरेको पाइएको छ। १० वर्षको कैदसजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भए पनि उनीसँग निकट भएर बसेका कैदीहरूलाई चौकीदार, नाइके, भाइ नाइके नियुक्ति गर्न कैदीबन्दीमार्फत नै दबाब दिएको खुलेको छ।  

जेलमा रहेका नहकुल तामाङ, शेरबहादुर बस्नेत र विष्णु पाण्डेलाई क्रमशः चौकीदार,नाइके र भाइ नाइके बनाउनुपर्ने माग जेलभित्रै उठाउन थालियो। त्यसमा गुन्डा नाइके बाहुनको हात रहेको पाइएको थियो। जेलमा रहेका केहीले आगामी फागुनमा चौकीदार नियुक्त हुने तामाङलाई अहिले नै बनाउनुपर्ने माग अघि सारेपछि त्यसको सूक्ष्म अनुुसन्धान गर्दा जेलबाहिरबाट रमेश बाहुनको संलग्नता रहेको पाइएको थियो। केन्द्रीय कारागारमा अहिले प्रभाकर नरसिंह राणा चौकीदार छन्। उनी फागुनमा जेलमुक्त हुने र त्यसपछि नहकुल तामाङ चौकीदार हुनेवाला थिए। तर बाहुनको उक्साहटमा कैदीबन्दी भड्किएर कारागारमा विद्रोह हुने अवस्था देखिएपछि प्रशासनले उनलाई भद्र बन्दी गृहमा सरुवा गरेको थियो। ‘रमेश बाहुनले तयार पारेको समूहको नेतृत्व गरेका तामाङलगायतले कारागारमा भद्रगोल अवस्था सिर्जना गरेपछि प्रशासनले जेलसरुवा गर्ने प्रस्ताव कारागार विभागमा पठाएको थियो तर गृह मन्त्रालयका केही कर्मचारीले नै अवरोध गर्दा उनीहरूको सरुवा रोकिएपछि प्रशासनले उनीहरुलाई अर्को भद्र बन्दी गृहमा सरुवा गर्नुपरेको थियो,’ केन्द्रीय कारागार प्रशासन स्रोतले भन्यो ।

तामाङ मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा सजाय भोगिरहेका छन्। त्यस्तै बस्नेत लागुपदार्थ कारोबार र पाण्डे अपहरण तथा शरीर बन्धकको मुद्दामा सजाय काटिरहेका छन्। स्रोतका अनुसार उनीहरूले जेलभित्र रहेका कैदीबन्दीहरूको मुद्दा मिलाइदिने, रमेश बाहुनमार्फत विभिन्न नेताहरूलाई भनेर जेल सजाय कम गरिदिने, छुटाइदिने भन्दै पैसा उठाएर १० लाखभन्दा बढी रकम रमेश बाहुनलाई पठाएको पत्ता लगाएपछि उनीहरूको सरुवा प्रक्रिया सुरु गरेको थियो। पैसा उठाएको गुनासो जेल प्रशासनसम्म पुगेपछि तामाङ, बस्नेत र पाण्डेलाई केन्द्रीय कारागारबाट अन्तै पठाउन खोजेको स्रोतको दाबी छ। तर उनीहरूले सेटिङ गर्न भ्याएकाले सरुवा हुन सकेन।  

जेलमा रहेका नहकुल तामाङ, शेरबहादुर बस्नेत र विष्णु पाण्डेलाई क्रमशः चौकीदार, नाइके र भाइ नाइके बनाउनुपर्ने माग जेलभित्रै उठाउन थालियो। त्यसमा गुन्डा नाइके रमेश बाहुनको हात रहेको पाइएको थियो। 

यो विषयलाई केही दिनअघि गृह सचिव दिनेश भट्टराईमार्फत मन्त्रीलाई समेत जानकारी गराइएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो विषयमा आफूलाई रुचि पनि नभएको र आफूले कोही कसैलाई पनि जेल सरुवाको विषयमा निर्देशन दिने काम नगरेको तथा सबै काम नियमबमोजिम गर्न निर्र्देशन दिएको बताएका थिए। सचिव भट्टराईले पनि सोही नियमअनुसार नै काम गर्न केन्द्रीय कारागार प्रशासनलाई निर्देशन दिएका थिए। केन्द्रीय कारागार विभागका प्रमुख उपसचिव ललित बस्नेतले कैदीबन्दीको सरुवा नियमअनुसार नै भएको बताए। ‘उनीहरूको सरुवा नियमअनुसार भएको छ, उनीहरूलाई केन्द्रीय कारागारबाट भद्र बन्दी गृहमा पठाइएको छ,’ उनले भने।

उनका अनुसार जेल प्रशासनले उनीहरूलाई बिनाआधार र बिनाप्रमाण सरुवा गरेको छैन। वैशाख ८ गते जेल भुक्तान भई बाहिर रहेका रमेश बाहुनसँग एक दिनमै चारपटक टेलिफोन सम्पर्क भएको पाइएपछि त्यसको अनुसन्धानका क्रममा फेला परेको तथ्यका आधारमा सरुवा गरेको उनको भनाइ छ। ‘कारागारमा रहेको टेलिफोन बुथबाट उनीहरू तीन जनाले नै दिनमा चारपटकसम्म सम्पर्क गरेको पाइयो, घरपरिवारसँग सम्पर्क गर्न राखिएको फोनबाट बाहुनसँग कुराकानी गर्नुपर्ने के कारण हुन्छ भनेर खोजतलास गर्दा मुद्दा मिलाउने भन्दै पैसा उठाएर सो पैसा बाहिर पठाएको पनि पाइयो। त्यसकारण उनीहरूलाई बाहिर पठाउन प्रस्ताव गरिएको थियो,’ कारागार प्रशासन स्रोतले भन्यो।  

बाहुन केन्द्रीय कारागारमा लागुऔषध मुद्दामा दोषी ठहर भई १० वर्ष सजाय भोग्दा उनले आफ्नो सञ्जाल विस्तार गरेको पाइएको कारागार प्रशासन स्रोतले जनाएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई १० वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। २०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते पक्राउ गरेर ल्याई केन्द्रीय कारागार पठाएको थियो। त्यसबीचमा उनको चालचलन असल रहेको भन्दै एक वर्ष कैद मिनाहा हुँदा वैशाख ८ मा जेलमुक्त भएका थिए।  

बाहुन जेलमुक्त हुनुअघि नै प्रभाकर नरसिंह राणा चौकीदार नियुक्त भएका थिए। कारागार प्रशासनको नियमअनुसार कुनै बदमासी नभए उनी आगामी फागुनमा मात्रै चौकीदार पदबाट मुक्त हुनेछन्। कारागारको आन्तरिक प्रशासन मानिने कैदी व्यवस्थापनसम्बन्धी दैनिक खटनपटनको जिम्मेवारी चौकीदारमा हुन्छ। कारागार व्यवस्थापन ऐन २०१९, नियमावली २०२० र कारागार व्यवस्थापन कार्यविधि २०७३ मा ‘नेगेटिभ सूची’का कसुरमा अदालतबाट दोषी ठहर भएकालाई आन्तरिक प्रशासनको नेतृत्व दिन नपाउने प्रावधान छ। सो व्यवस्थाअनुसार चौकीदार र नाइके नियुक्त भएका व्यक्तिले सबै कैदीका लागि मेस सञ्चालनदेखि किराना पसल, क्यान्टिन र खाजा पसल खोल्नेसम्मको भूमिका निर्वाह गर्न पाउँछन्। कारागारमा बजार मूल्यभन्दा महँगोमा सामान बेच्न नपाइने व्यवस्था कानुनमा छ। कारागारभित्र भाडा र बिजुली महसुल लाग्दैन। यो विषयमा बेलाबखत कारागार प्रशासनले अनुगमन गर्छ।

कारागार व्यवस्थानसम्बन्धी कार्यविधि २०७३ को परिच्छेद २ मा चौकीदार र मूल नाइके नियुक्त गर्दा सोही कारागारमा एक वर्ष बसेको, ५० प्रतिशत सजाय भुक्तानी गरेको तथा नकारात्मक सूचीमा नपरेको व्यक्ति हुनुपर्ने भनिएको छ। त्यसकै आधारमा चौकीदार नियुक्त हुने प्रावधान छ। नाइके र सहनाइकेका हकमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको एवं ६ महिनाभन्दा बढी कैद बाँकी रहेको हुनुपर्ने व्यवस्था छ। नकारात्मक सूचीमा नपरेका कैदी कारागारमा नभए मात्रै चालचलन र व्यवहार हेरेर अन्यलाई चौकीदार, नाइके र सहनाइके छनोट गर्न पाइन्छ। त्यसमा पनि एकपटक चौकीदार, नाइके र सहनाइके भइसकेको व्यक्तिलाई दोहो¥याएर आन्तरिक प्रशासनको नेतृत्व दिन मिल्दैन। अहिले केन्द्रीय कारागारमा यो व्यवस्था लागु भएको कारागारका प्रशासन प्रमुख उपसचिव बस्नेतले बताए। ‘अन्त के छ म भन्न सक्दिनँ तर केन्द्रीय कारागारमा नियमावली नियमलाई पालना गरिएको छ, यहाँ फट्याइँ गर्ने जोकोहीलाई ऐननियमअनुसार कारबाही हुन्छ, कैदीबन्दीको सरुवा पनि नियमित प्रक्रिया हो,’ उपसचिव बस्नेतले भने।

प्रकाशित: १२ असार २०८० ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App