१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकताको नयाँ संशोधन प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताएका छन्।

रिपोटर्स क्लवको वार्षिकोत्सवमा बोल्दै उनले भने, “सबैलाई मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुन्छ, यसले मुलुकलाई एकताबद्ध गर्नेछ।”

प्रधानमन्त्रीले यो प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै निर्वाचनको सङ्कल्पमा राष्ट्र अगाडी बढिसकेकाले यसमा कुनै शङ्का नगर्न आग्रह गरे।

स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै उनले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने स्पष्ट गरे।

प्रधानमन्त्री दाहालले सही व्यक्तिलाई सही जिम्मेवारी दिएर अगाडि बढेको अवस्थामा मुलुकको आर्थिक समृद्धि गर्न सकिन्छ भन्दै विद्युत्भार कटौती र सही व्यवस्थापनबाट मुलुकको आर्थिक वृद्धि छ प्रतिशत पुग्ने देखिएको बताए।

दुई छिमेकी मुलुकसँग असल सम्बन्ध कायम गरेर नेपालको विकास गर्न सकिन्छ भन्ने विश्वास आफूमा बढेको बताउँदै उनले राष्ट्रिय एकताको अभियानमा सहयोग गर्न सबैमा आह्वान गरे।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउँदै यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे।  

संविधान कार्यान्वयनका लागि तोकिएको समयमा तीन वटै तहको निर्वाचन सकाउनुपर्ने बताउँदै उनले राजनीतिक स्थिरतापछि कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्धिको बाटोमा अघि बढ्न सकिनेमा जोड दिए।

नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरीले आर्थिक विकास र समृद्धिको बाटोमा नेपाल अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गरे।  रासस

 

प्रकाशित: २६ चैत्र २०७३ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App