जाजरकोट – गत मंगलवार खलंगामा अज्ञात समूहद्वारा विभत्स ढंगले हत्या गरिएका काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरूलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले शुक्रवार जाजरकोट वन्द गरेको छ ।
घटना भएको ४ दिन सम्म पनि हत्यारालाई प्रहरीले समाउन नसक्नु रहस्यमय भएको भन्दै तरुण दलले एक दिन जिल्ला बन्दको आव्हान गरेको हो । तरुण दलको बन्दका कारण जिल्लाको सम्पूर्ण यातायात, व्यापार र शिक्षण संस्थाहरूको पठन पाठन ठप्प भएको छ ।
'स्थानीय प्रशासनले हत्याको कारण र हत्यारा पत्ता लगाउन नसके हामी अाफैँ पत्ता लगाउँछाैँ' –तरूणादल अध्यक्ष
चार दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसक्ने स्थानीय प्रशासनको नियत माथि नै आफूहरूको शंका रहेको दलका नेताहरूको आरोप छ । प्रहरीले अनुसन्धान भइरहेको नाउँमा सित्तैमा दिन गुजार्ने काम गरेको तरुण दलका जिल्ला अध्यक्ष हरिचन्द्र बनेतले वताए ।
उनले स्थानीय प्रशासनले हत्याको कारण र हत्यारा पत्ता लगाउन नसके आफूहरुले लगाइदिने बताए । विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा दिन दहाडै काँग्रेस नेताको हत्या भएको यत्रो दिन सम्म पनि केही कुरा नभेटिनु निकै दुखद् र रहस्यमय भएको उनले बताए ।
हत्याको विरोध र हत्यारा छिटो समाउन स्थानीय प्रशासनलाई दबाब दिन तरुण दलले विरोध जुलुस समेत गरेको छ । त्यस्तै गैरसरकारी संस्था महासंघ नेपालको अगुवाइमा सदमुकाममा विभिन्न संघसस्थाहरुले पनि विरोध सभा तथा र्यालीको तयारी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले घटनाको कारण र हत्याराहरू पहिचानका लागि आफूहरुले निकै शुक्ष्म रुपमा काम गरिरहेको र अहिले सम्म केही पत्ता नलागेको बताए ।
प्रकाशित: १८ चैत्र २०७३ ०५:०२ शुक्रबार