२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय समकक्षीसँग आज दुई पक्षीय भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटघाट सुरु गरेका हुन्।

बिहीबार दुई देशका प्रधानमन्त्रीबीचको भेटका साथै दुई पक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ। प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदीका साथै राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटको कार्यक्रम तय भएको छ। हैदरावाद हाउसमा प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै विभिन्न सहमति र समझदारीमा हस्ताक्षर हुनेछन्।

त्यसपछि राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा सम्झौताका साथै विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने, भारतसँग विद्युत् व्यापारसँगै बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने जस्ता विषयमा सहमति गर्ने नेपालको प्रयास छ।

चीनसँग हुने व्यापार हिन्द प्रशान्त महासागरमार्फत हुने सन्धि, कृषि उत्पादनलाई नन रेसिप्रोकल बेसिसमा भारतीय बजारमा पुर्याउने, नेपाल–भारत ट्रेड ट्रिटी अध्यावधिक, सुदूरपश्चिम र उत्तराखण्ड जोड्ने पुुल निर्माणका साथै नयाँ नाकासहितका विषयमा पनि सहमति हुने जनाइएको छ। पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारसहित विषयमा पनि दुई देशबीच महŒवपूर्ण समझदारी बन्ने बताइएको छ। विगत लामो समयदेखि थाती रहेका सीमा विवादसहितका विषयमा पनि कुरा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री दाहाल चार दिने भ्रमणका क्रममा मध्य प्रदेशको इन्दोर र उज्जैन जानेछन्। त्यहाँबाट नयाँ दिल्ली फर्केर जेठ २० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालसँगै भ्रमण टोलीमा झन्डै डेढ सय सदस्य छन्।

प्रकाशित: १८ जेष्ठ २०८० ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App