१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रवादको बहस सदनमा दोहोरी

काठमाडौं- व्यवस्थापिका संसद् बैठकमा सोमबार बोल्ने सांसदले दलहरुका आ–आफ्नै राष्ट्रवादका कारण मुलुक संवैधानिक संकटतर्फ उन्मुख भएको आरोप लगाएका छन्। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेले आफू मात्रै राष्ट्रवादी भनेर अरु दलको अस्तित्व स्वीकार गर्न नचाहेको आरोप लगाए। उनले एमालेले मेची–महाकाली अभियानका नाममा अराजकता मच्चाएको आरोपसमेत लगाएपछि एमाले सांसद भीम रावलले त्यसको प्रतिवाद गर्दै लोकतान्त्रिक दल नै अराजक भएको आरोप लगाए। रावलले कांग्रेसलाई 'आँसु चुहाउन छाडेर साँच्चिकै गोही हो भने दाह्रा निकालेर आए हुन्छ' भन्दै चुनौती दिए । खतिवडाले मोर्चा र एमालेको दुईथरी उग्र राष्ट्रवादको प्रचार धेरै हुँदा मुलुक संवैधानिक खाडलमा जान लागेको बताए।

'एमाले मेची–महाकाली अभियानका नाममा नयाँ राष्ट्रवादको भ्रम सिर्जना गर्दै हिँडेको छ भने मोर्चा सांसदको भत्ता खाएर यसैलाई बहिष्कार गरेर तराईमा अन्य दललाई प्रवेश नदिने कार्य गर्दै आएको छ', खतिवडाले भने, 'यी दुई थरी अतिवादले उनीहरु कता जान्छन्, थाहा छैन तर देश विकास नहुने पक्का छ।'

रावलले एउटाले एमालेको अभियानलाई अराजक देख्ने र अर्कोले पेट्रोल बम हान्ने अचम्मको दृश्य देखिएको बताए। उनले भने, 'कुनै राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रमलाई अराजकता देख्ने दलको सिद्धान्तमाथि जनताले प्रश्न उठाएका छन्। आफू पनि जनतामा नजाने र जानेलाई अराजक भन्नेहरुको पेट्रोल बम बोकेर शान्तिपूर्ण सभामा आक्रमण गर्नेसँग सम्बन्ध त छैन?'

रावलले आफू भर्खरै कञ्चनपुरको आनन्दबजार पुगेर सहिद गोविन्द गौतमका परिवारलाई पार्टीका तर्फबाट ५ लाख प्रदान गरेर फर्किएको भन्दै सीमा व्यवस्थापन कार्ययोजना आवश्यक रहेको बताए।

उनले नेपाल–भारत प्रबुद्ध समूहको बैठक स्थगन तथा कञ्चनपुर घटनामा सरकारको लाचारीले यो सरकार 'लम्पसारवाद'बाट मुक्त हुन नसकेको आरोप लगाए।

रावलको आरोपको प्रतिवाद गर्दै माओवादी केन्›का सांसद अमनलाल मोदीले भने, 'अहिलेको सरकार लम्पसारवादी हो भने इतिहासमा सन्धि–सम्झौता गर्ने शासक पनि लम्पसारवादी हुन्। कुनै पनि थारु मधेसीले सन्धि–सम्झौता गरेका छैनन्।'

मोदीले अहिले तराईमधेसबिनाको राष्ट्रियता र पहाडबिनाको राष्ट्रियताको बहस भइरहेको भन्दै यी दुवै अतिवादबाट मुक्त हुनुपर्ने बताए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद अमनलाल मोदीले पनि ठूला दलको दम्भका कारण मधेसमा समस्या भएको बताए। निर्वाचन सार्नुपर्ने र तोकिएकै मितिमा हुनुपर्ने दुई थरी अतिवाद देशमा सुरु भएको उनको भनाइ थियो।

देशको आन्तरिक समस्या सदनमा बसेर मिलाउनु सट्टा सडकमा ल्याउँदै एमाले र मधेसी मोर्चाले समस्या सिर्जना गरेको आरोप मोदीले लगाए।

नेमकिपाकी सांसद अनुराधा कोइरालाले भारतको इशारामा देश सञ्चालन भएको भन्दै आपत्ति प्रकट गरिन्। थापाले भारतीय गतिविधि नेपाल हितविपरीत रहेको र सरकारले त्यसको प्रतिरोध गर्न नसकेको आरोप लगाइन्।

निर्वाचन मुखमा 'बजेट रकमान्तर'

एमाले सांसद रवीन्द्र अधिकारीले अर्थ मन्त्रालय अराजकता निम्त्याउने मन्त्रालय बनेको आरोप लगाएका छन्। संसद्को सोमबार बैठकमा बोल्दै विकास समितिका सभापति समेत रहेका अधिकारीले निर्वाचन आउनै लाग्दा सरकारले सञ्चित कोष बर्बाद पारिरहेको टिप्पणी गरे।

'वैशाख ३१ गते निर्वाचन मिति घोषणा भएको अवस्थामा चैत ४ सम्म योजनामा नभएको बजेट पठाउने काम गरिएको छ', उनले प्रश्न गरे, 'हामी निर्वाचन गर्दैछौँ कि सञ्चित कोष बर्बाद गरिरहेका छौं?'

बजेटका कार्यक्रम निष्त्रि्कय बनाउने र नयाँ कार्यक्रम अगाडि सारेर रकम बाँड्ने प्रवृत्तिले पुराना कार्यक्रम पूरा नहुने भन्दै उनले यसले विकासको हबिगत देखाएको भन्दै चिन्ता व्यक्त गरे। 'पुँजीगत विकास खर्च १५ प्रतिशत भइरहेको छ। रकमान्तर १० प्रतिशत मात्र गर्न पाइन्छ', उनले प्रश्न गरे, 'तर विभिन्न मन्त्रालयबाट ९९ अर्बबराबरको रकमान्तर गरेर सरकारले किन ब्रह्मलुट मच्चाइरहेको छ?' भौतिक पूर्वाधार मन्त्रालयले नै ४० अर्बको रकमान्तर गरेको उनले बताए।

राष्ट्रिय योजना आयोग मन्त्री र मन्त्रालयका अराजकता हेर्ने निकाय भए पनि ती सबै निरीह भएको अधिकारीको भनाइ छ। राष्ट्रको ढुकुटीमा लापरबाही गर्न मिल्छ कि मिल्दैन भन्दै उनले बजेटमा उल्लेख नभएका र सिफारिस नभएका योजनामा बजेट छुट्ट्याइएको बताए।

प्रकाशित: ८ चैत्र २०७३ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App