१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

पशुपतिको जलहरीको विषयमा संसदीय छानबिन समिति गठन गरौँ: सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

उनले आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उनले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरु उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताए। आफुले ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको उनको भनाई छ। उनले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पारे।

उनले भने ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाव प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाइले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भिरतापूर्वक माग के छ भने संसदीय छानविन समिति गठन गरौँ। त्यो सुन कसले खायो ? नैतिक हिसावले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ। तर व्यक्तिगत हिसाबले किटान गरिएको थिए । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको। मैले कही संसदीय मर्यादा उल्लंघन गरेको छैन। मेरो बोल्न पाउने अधिकार म सँग सुरक्षित छ नि । मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ। कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन।’

प्रकाशित: १२ जेष्ठ २०८० १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App