३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकारले जसरी पनि चुनाव गराउन चाहेको छ’

जनकपुर- माओवादी केन्द्रका नेता मातृका यादवले सरकार कुनै पनि हालतमा निर्धारित समयसिमाभित्रै स्थानीय तहको निर्वाचन गराउने पक्षमा रहेको दावी गरेका छन्।

शनिबार जनकपुरमा राष्ट्रिय मधेसी मुक्ति मोर्चा एकता भेलालाई सम्बोधन गर्दै उनले केही तत्व मधेसलाई देशबाट फुटाउने षड्यन्त्रमा सक्रिय भएको टिप्पणी गर्दै यादवले समयमा निर्वाचन सफल भए समग्र देशवासीको कल्याण हुने बताए। ‘समयमै निर्वाचन गराउन मधेसको मुद्दालाई सम्मानजनक सम्बोधन गर्दै सरकार हरसम्भव प्रयासरत छ’ उनले भने, ‘यसका लागि मधेसी जनताले पनि अनुकुल वातावरण बन्ने भूमिका खेल्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री केपी ओलीको व्यवहारले मधेशी जनतामा निरासा छाएको बताउँदै यादवले माओवादीले सबै वर्गले समान अधिकार पाउनुपर्नेगरी वकालत गर्ने नेता मात्रै देशका नेता हुनसक्ने बताए । ‘एउटा खास वर्ग र जातलाई काखी च्यापेर राजनीति गर्ने व्यक्ति कदापि राष्ट्रिय नेता कहलिदैन’ उनले थपे, ‘केपी ओली प्रवृतिलाई देशभरबाट विरोध हुनु आवश्यक छ।’

एकता भेलापछि जगत

विभिन्न आधा दर्जनको संख्यामा विभाजित माओवादी पार्टीहरुबीच एकता भएको झण्डै वर्षदिन पुग्न लाग्दा शनिबार सबै खेमाको मधेशी संगठनबीच एकता भेला भएको छ।

भेलाले जगत यादवको नेतृत्वमा ४ सय ५६ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। मातृका यादव खेमाका राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष जगत यादव (सिरहा) राष्ट्रिय एकता सम्मेलन आयोजक समितिको संयोजक चुनिएका छन् भने संस्थापन पक्षका अध्यक्ष नन्दकिशोर यादव (धनुषा) र रामबहादुर थापा बादल समूहका अध्यक्ष विश्वजित यादव (सर्लाही) सहसंयोजक चयन भएका छन्।

भेलामा पश्चिम नेपालस्थित ५ नम्बर प्रदेशका सबै समूहबाटगरी ७२ जना, मातृका यादव समूहका ६१, मणि थापा समूहका ३६, बादल समूहका १ सय २५ र संस्थापन पक्षका १ सय ६२ जना सहभागी थिए। संयोजक र दुई सहसंयोजक समेत ४ सय ५६ जना कार्यालय सदस्य भएको मोर्चाका इन्चार्ज मातृका यादवले घोषणा गरेका छन् । उनले निकट भविष्यमा मोर्चाको राष्ट्रिय सम्मेलनगरी नयाँ नेतृत्व चयन गर्ने जनाए।

 

प्रकाशित: ५ चैत्र २०७३ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App