१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावमैत्री राजनीतिक वातावरण बनाउन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमैत्री राजनीतिक वातावरण बनाउन र सुरक्षाको अवस्था सुदुढ बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। स्थानीय तह चुनाव मिति वैशाख ३१ गते तोकिएको छ। 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निर्वाचन मिति नजिकिँदै गर्दा पनि चुनावमैत्री राजनीतिक वातावरण नभएको भन्दै तत्काल राजनीतिक दललाई निर्वाचनमा केन्द्रित गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त यादवले सबै राजनीतिक दल र जनताले निर्वाचनको स्वामित्व लिनसक्ने वातावरण बनाउन आग्रह गरेका थिए। उनले सबैलाई निर्वाचनमा सहभागी गराउन अधिकतम प्रयास गर्न पनि आग्रह गरे।

प्रमुख आयुक्त यादवले आफूले प्रधानमन्त्रीलाई निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षाको बलियो भएको प्रत्याभूति दिलाउन आग्रह गरेको बताए। 'पहिलो कुरा निर्वाचन तयारीका लागि आयोगले हालसम्म गरेका काम प्रधानमन्त्रीलाई जानकारी गराएँ। निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन र सुरक्षा अवस्था मजबुत बनाउन पनि आग्रह गरेको छु,' यादवले नागरिकसँग भने, 'प्रधानमन्त्रीले राजनीतिक सद्भाव र विश्वासको वातावरण बनाउन मैले सबै प्रयास गरिरहेको छु, तपाईंहरूरु अघि बढनोस् भन्नुभएको छ।'

यादवले राजनीतिक सद्भाव र विश्वासको वातावरण बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। 'वैशाख ३१ गते हुने महाअभियानमा सबैको सहभागिता होओस् भन्ने हाम्रो चाहना हो, विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्छ,' उनले भने, 'तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध छ, निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ।' यादवले स्थानीय निर्वाचनका लागि आयोगले शनिबारदेखि मतपत्र छपाइ थाल्ने जानकारी समेत प्रधानमन्त्रीलाई गराएका थिए।

प्रधानमन्त्री दाहालले राजनीतिक विश्वासको वातावरण बनाउन सरकार लागिपरेको र तोकिएकै मितिमा निर्वाचन गराउन सरकारले आयोगलाई आवश्यक सबै सहयोग गर्ने बताएका थिए।

६ प्रकारका मतपत्र

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि विभिन्न ६ प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ। स्थानीय निर्वाचनमा भाग लिने दलको संख्या जिल्लैपिच्छे फरक भएपछि आयोगले छुट्टाछुट्टै प्रकारका मतपत्र छाप्ने तयारी गरेको हो। स्थानीय निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा धेरै ४७ दल दर्ता भएका छन्। त्यस्तै सबैभन्दा कम मनाङमा ७  दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लैपिच्छे निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या फरकफरक भएकाले त्यसैलाई आधार बनाएर ६ प्रकारका मतपत्र छाप्ने तयारी भएको बताए। देशभर कुल ३६ हजार ६ सय ३९ पदका लागि हुने चुनावमा भाग लिन ७९ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगले जनकशिक्षा सामग्री केन्द्रबाट मतपत्र छपाइ गर्दैछ। मतपत्र सुरक्षाका लागि नेपाली सेना खटाइने भएको छ।

गृहको स्वीकृति र आयोगको सहमतिमा सभा

अब राजनीतिक दलल निर्वाचन केन्द्रित  कार्यक्रम गर्दा गृह मन्त्रालयको स्वीकृति र निर्वाचन आयोगको सहमति लिनुपर्ने भएको छ। आयोगमा शुक्रबार बसेको  'सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक' मा गृहसचिव लोकदर्शन रेग्मीले प्रस्तृत गरेको निर्वाचन सुरक्षामा आधारित कार्ययोजनामा छलफल हुँदा दलहरूले निर्वाचन केन्द्रित कार्यक्रम गर्दा गृहको स्वीकृति र आयोगको सहमति लिनुपर्ने निर्णय भएको हो। बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले दलहरूको निर्वाचन कार्यक्रम गर्दा गृह मन्त्रालयको स्वीकृति र आयोगको सहमति अनिवार्य लिनुपर्ने बताएका थिए।

गृहको कार्ययोजनामा आयोगले मतदान केन्द्रमा सुरक्षा जाँच गरेर प्रवेश दिने व्यवस्था गर्न, सञ्चारमाध्यमबाट निर्वाचनबारे गलत ढंगले सूचना प्रवाह भए रोक्न सुझाव दिएको छ। आयोगले  सुरक्षा निकायले पनि आचारसंहिता पालना गर्नुपर्ने र विशेष सुरक्षा योजना बनाउन आग्रह गरेको छ। आयोगले निर्वाचनमा विशेष सुरक्षा सर्तकता अपनाउन र कमभन्दा कम बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी प्रवक्ता शर्माले दिए।

प्रकाशित: ५ चैत्र २०७३ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App