निर्माण सुरु भएको १२ वर्षमा सम्पन्न हुँदै लाग्दा बाढीले भत्काएको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीको पुल २ वर्ष पुग्न लाग्दासम्म मर्मतको सुरसार छैन।
सम्पन्न हुनै लागेको बेला ०७८ असार २० गते परेको अविरल वर्षाको बाढीले दक्षिणतर्फका २ वटा स्पान भत्काएपछि अलपत्र परेको पुल अहिलेसम्म मर्मत या पुन निर्माण गर्ने टुंगो नलाग्दा स्थानीयवासीले भोग्दै आएको बाढीको समस्या अझै कति वर्ष झेल्नुपर्ने ठेगान छैन।
निर्माण व्यवसायीको चरम लापरबाहीका साथै आवश्यकता अनुसार बजेट अभावले ढिला भएको पुल सक्न ७/८ पटक म्याद थपेर ०७८ असारभित्र सकिन लाग्दा बाढीले भत्काएको हो। बाढीले पुलको एउटा फाउण्डेशन पिल्लर भाँचेपछि २ पटिका स्वल्याब स्पान भत्केलगत्तै विभागबाट आएको प्राविधिक टोलीले निरीक्षण अनुगमन गरी मन्त्रालयमा रिपोर्ट बुझाएको जानकारी आए पनि अहिलेसम्म काम भने अघि बढेको छैन। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरको रेखदेखमा बन्दै गरेको पुल मर्मत या पुन निर्माणको लागत इस्टीमेट फाईल विभागबाट मन्त्रालय पुगेको आयोजना कार्यालयका सूचना अधिकारी प्रभातकिरण राईले बताए।
उनले २ वर्षअघिको फाईल किन ढिला भयो भन्ने विषयमा आफूलाई धेरै जानकारी नभएको बताए। ‘फाईल विभागबाट मन्त्रालयमा पुगेको भन्ने खबर आएको छ’ पछिल्लो जानकारी अद्यावधिक गर्दै राईले भने ‘आगामी वर्षदेखि काम होला तर, के कति बजेट दिन्छ, बजेट सुनिश्चित हुने नहुने भन्नेबारे हामीलाई विस्तृत जानकारी छैन।’ उनले थप ९ करोड खर्च लाग्ने प्राविधिक इस्टीमेट बनेको जानकारी आएको पनि बताए।
निर्माण सम्पन्न भएर उद्घाटन गर्न मात्र बाँकी रहेको पुल बाढीले एक्कासि भत्काएपछि मन्त्रालयले डिभिजन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर, पुल महाशाखाका सिडिई र पुल सेक्टर १ धरानका इन्जिनियर पठाएर स्थलगत अध्ययन गर्न लगाएको थियो। सो टोलीले अध्ययन गरी फर्केको भोलिपल्टै अर्थात् १५ दिन नपुग्दै बाढीले फेरि पुल भत्काएर थप क्षति गरेको थियो। साउन २ गते दोस्रो पटकको बाढीले थप २ पिल्लर र ३ स्पान स्वल्याब भत्काइदिएपछि पुनः प्राविधिक टोली आएर मर्मतका लागि अध्ययन गरेर फर्केको थियो। टोलीको अध्ययन प्रतिवेदन त्यत्तिखेरै बुझाएको जानकारी आएको तर, काम अघि नबढेको कार्यालयले जनाएको छ।
पुलका ३ पिल्लर बाढीले बगाइदिँदा ४ वटा स्वल्याब भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको छ। ०६७ सालमा ९ करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको ११ स्पानको २ सय ८० मिटर लम्बाई र साढे ५ मिटर चौडा पुल १२ वर्ष बित्न लाग्दा निर्माणको अन्तिम चरणमा पुगेको थियो। ३ वर्षे अवधिभित्र निर्माण सम्पन्न नभएपछि पुनरमूल्यांकन गर्दै जाँदा १२ वर्षमा पुलको लागत पौने १० करोडबाट बढेर ११ करोड २७ लाख पुगेको थियो।
काडमाडौंस्थित ‘बालाजु स्वाइल कन्सल्टेन्सी’ ले डिजाइन र माटो परीक्षण गरेको पुल बाढीले भत्काउनुमा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको आशंका स्थानीयले गरेका छन्। तर, निर्माण कम्पनी या कन्सल्टेन्सी कसको कमजोरी भन्ने कुरा पनि मन्त्रालयकै विज्ञ टोलीको पत्ता लगाउने भएकाले यसबारे कार्यालयले अनविज्ञता प्रकट गरेको छ।
भत्केको पुल पुन बनाउनेतर्फ राज्यले ध्यान नदिएका कारण डेढ दशकदेखि पुलको पर्खाईमा रहेका स्थानीय सुन्दरपुर, बेलहा, शिवाईबासी बर्सेनि बाढीको चपेटा सहँदै आउनुपर्ने बाध्यतामा छन्।
‘पुल बन्छ बन्छ भन्दाभन्दै एउटा पुस्ता सकिन लाग्यो तर, बनेन’ स्थानीय शिक्षक भास्कर चौधरीले भने ‘१२ वर्षमा बल्लबल्ल बनिसक्न लागेको थियो, त्यो पनि बाढीले भत्काइदियो।’ भत्केको २ वर्षसम्म मर्मत गर्नसम्म सुरु नभएको यो पुल अहिलेको पुस्ताले तर्न पाउँछ कि पाउँदैन शंका लाग्न थालेको पूर्व वडाध्यक्ष देवनारायण चौधरीले बताए।’
प्रकाशित: १० जेष्ठ २०८० १०:१८ बुधबार