९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

‘कोसी नाम खारेज नभए आन्दोलन थप सशक्त’

उभौलीको अवसरमा आयोजित कार्यक्रममा किराती, पाठक र शेर्पालगायत पहिचानबादी अभियन्ताहरु । तस्विरः महेश्वर

पहिचान पक्षधर नेताहरुले १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखे जारी आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। मंगलबार सदरमुकाम गाईघाटमा आयोजित ‘साकेला उभौली चाडको अवसरमा पहिचान पक्षधरको शक्ति प्रदर्शन कार्यक्रम’मा बोल्ने विभिन्न नेताहरुले पहिचानविरोधी ‘कोसी प्रदेश’ नाम खारेजी आन्दोलनलाई अझ सशक्त बनाउँदै लाने बताए।

पहिचानबादी अभियन्ताहरु पूर्वमन्त्री गोपाल किराती, प्रगतिसिल लेखक, विश्लेषक युग पाठक, आदिवासी जनजाति महासंघ पूर्व महासचिव आङकाजी शेर्पालगायत नेताहरुले प्रदेशको नाम कोसी खारेज गरेर पहिचानको आधारमा किरात, लिम्बुवान नराखेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। पहिचानको आन्दोलनलाई तार्किक निश्कर्षमा पुर्याउन यो वर्षको किराती समुदायको साकेला उभौली (धिरीनाम)लाई संघर्षकै रुपमा मनाउने काम भईरहेको उनीहरुको भनाई थियो।  

किरातीले राज्यसत्ताले सदियौँदेखि आदिबासी जनजाति समुदायको पहिचान, सभ्यता, संस्कार संस्कृति नामेट पार्दै आएको बताउँदै १ नं. प्रदेशको नाम कोसी राख्नुलाई त्यसकै निरन्तरताको रुपमा अथ्र्याउनुपर्ने बताए। १ नं. प्रदेशमा बसोबास गर्ने बहुुसंख्यक समुदाय किरात, लिम्बुवा भए पनि उनहिरुको पहिचान समाप्त पार्ने उदेश्यले कोसी प्रदेश नाम राख्नु संकिर्ण मानसिक्ताको उपज भएको भन्दै उनले सो नाम कुनै हालतमा स्वीकार्न नसकिने हुनाले खारेजी अभियान अन्तर्गत आन्दोलनलाई तिब्र पार्दै लगिएको बताए । साकेला सिली किराती समुदायका पुर्खाहरु जंगली युगदेखि कृषि युगमा प्रवेश गरेदेखि चल्दै आएको भन्दै किरातीले यो भूमिको पहिलो आवाद गर्ने समुदाय भएको नाताले इतिहास र सभ्यतालाई सम्मान गर्दै पहिचानको प्रदेश नाम राख्नुपर्नेमा जोड दिए। पुर्खाहरुको थातथलो, इतिहास, भूगोल र भाषा, संस्कार संस्कृतिको प्रदेश नाम पहिचानकै आधारमा मात्र स्वीकारिने पनि उनले बताए।  

पहिचानको विषय माओबादी जनयुद्धताका उठान भएर विस्तृत शान्ति सम्झौता हुँदै पहिलो संविधानसभामा ‘राज्यशक्तिको बाँडफाँड समिति’बाट दस्तावेजीकरण भएको स्मरण किरातीले गरे। राज्यशक्तिको बाँडफाँड अन्तर्गत पहिचानका ५ र सामथ्र्यका ४ आधार तय गरी त्यसकै धरातलमा संघीयता र पहिचान सुनिश्चित गर्ने सहमति भएको स्मरण गर्दै किरातीले संविधान लेख्ने क्रममा सत्तापक्षले षडयन्त्रपूर्वक बदमासी गरेको बताए। जातीयता, भाषिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिकता गरी ५ आधारमा संघीयता र पहिचान सुनिश्चित गर्ने राज्यशक्तिको बाँडफाँड समितिले निर्णय गरेकोमा पछि अनेकौँ बखेडा झिकेर पहिचान धुलिचाट पार्ने कम भएको किरातीको भनाई थियो। जस्तोसुकै कठिनाई सहेर भए पनि पहिचानको नाम राखेरै छाड्ने अडान राख्दै किरातीले त्यसका लागि अन्तिम समयसम्म संघर्ष गर्ने प्रतिबद्धता जनाए।  

अर्का पहिचानबादी अभियन्ता युग पाठकले नेतृत्वको संकिर्ण र एकल सोँचकै कारण १ नं. प्रदेशको नाम कोसी रहन पुगेको बताउँदै त्यो प्रदेशबासीका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए। मार्क जुकरबर्गको सोँचका कारण आज विश्वभरका मान्छे घोप्टिएर मोवाईलमा फेसबुक चलाउने अवस्था आएको उदाहरण दिदै पाठकले प्रदेशसभाका सीमित नेताहरुको संकिर्ण सोँचका कारण पहिचानविरोधी प्रदेश नाम रहन पुगेको प्रष्ट्याए। लेखक पाठकले प्रदेशको नाम कोसी राख्नुको पछाडि पञ्चायती शासनकालकै अवशेष सोँचले काम गरेको भन्दै त्यसको खारेज गर्नुको बिकल्प नभएको बताए। ‘पञ्चायतकालमा कोसी, कर्णाली, बागमति, गण्डकी जस्ता नाम राखेजस्तै अहिले गणतन्त्र र संघीयताको युगमा पनि त्यत्ति धेरै बहस भईसकेको पहिचानको नाम नराखेर कोसी राख्नु भनेको पञ्चायती सोँच हो’ पाठकको भनाई थियो। सत्ताधारीसँग यस्तो संकिर्ण र एकल जातिबादी सोँच भएसम्म पहिचान स्थापित हुन नसक्ने हुनाले नतिजामुखी संघर्ष र आन्दोलनका लागि लामबद्ध हुन उनको आग्रह थियो।

त्यसैगरी अर्का वक्ता जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले १ नं. प्रदेशमा जारी पहिचानी आन्दोलन ‘ट्रेलर’ मात्र भएको भन्दै फुरै फिल्म देखाउन बाँकी रहेको बताए। पहिचानविरोधी कोसी प्रदेश नाम राख्नाले बहुसंख्यक किराती, लिम्बुवान समुदायको घोर अपमान भएको भन्दै उनले कुनै हालतमा यो नाम नस्वीकार्ने अडान लिए। आदिबासीको बहुलक्षेत्र गाईघाट बजारको चोकमै गाईको मूर्ति राख्दा सम्मान गर्ने किराती, लिम्बु समुदायले आफ्नो पहिचान नस्वीकार्ने समुदायप्रति कस्तो व्यवहार देखाउने भनि प्रश्न गरे। आफ्नो पहिचान नस्वीकार्ने हो भने गाईको मूर्ति सहेर बस्नुपर्छ भन्ने कुनै बाध्यता नहुने चेतावनी शेर्पाको थियो। देशवासी सबै समुदाय र जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानको सम्मान गर्दा अरुको पनि गर्न जान्नुपर्ने सुझाव शेर्पाको थियो।  

गाईघाट लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा सदरमुकाम त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिका तथा लिमचुङबुङ, उदयपुरगढी, ताप्ली र रौतामाइ गाउँपालिकाबाट किराती राई समुदायको सहभागिता थियो । १ नं. प्रदेश पुनः नामाकरण संघर्ष समितिको आयोजनामा सम्पनन कार्यक्रममा किरात राई यायोक्खाका महासचिव भीम राई, केन्द्रीय सदस्य दिपक किराती, अन्य केन्द्रीय तथा प्रदेश र जिल्ला पदाधिकारीहरुको पनि उपस्थिति थिया । यो वर्षको साकेला उभौलीलाइ पुनः नामाकरण संघर्ष समितिकै आन्दोलनकै रुपमा मनाउने अभियान अन्तर्गत प्रदेशका १४ वटै जिल्लाका विभिन्न ठाउँमा आन्दोलनमय साकेला उभौली मनाउने क्रम चलिरहेको छ। यायोक्खा उदयपुरकी अध्यक्ष तथा जिल्ला संघर्ष समिति संयोजक गंगा राईका अनुसार अन्य विभिन्न स्थानीयतहमा पनि क्रमशः कार्यक्रम गर्ने तालिका रहेको छ।  

१ नं. प्रदेशसभाले गत फागुन १७ गते सांसदहरुलाई थाहै नदिइ छापामार शैलीमा सीमित नेताहरुबीचको अपवित्र सम्झौतामा पहिचानविरोधी नाम राखेयता प्रदेश १ मा पुनः नामाकरण आन्दोलन बिगत ३ महिनायता जारी छ। आन्दोलनकै क्रममा प्रदेशका १४ वटै जिल्लामा संघर्ष समिति र युवा परिचालन कमिटीहरु निर्माण भएर क्रियासिल छन् । सुरुवाती आन्दोलनकै क्रममा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको जुलुसमाथि प्रहरीको अन्धधुन्ध लाठी र गोली प्रहारबाट पदम लिम्बु (लाजेहाङ)ले सहादत प्राप्त गरेपछि आन्दोलन थप चर्कदै गएको छ ।  

आन्दोलनलाई उचाईमा पुर्याउन प्रदेशका १४ वटै जिल्लामा पुनः नामाकरण संघर्ष समितिको गठन भएसँगै उदयपुरमा पनि गंगा राईकै संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय समिति गठन गरेको छ। साथै १ सय १ सदस्य युवा परिचालन समिति पनि त्यही भेलाले गठन गरेको छ। संघर्ष समितिले पहिलो पटक औपचारिक आयोजना गरेको प्रदेशस्तरीय बिरोध कार्यक्रममा अतिथि वक्ताको रुपमा किराती, पाठक, शेर्पालगायत नेताहरुलाई बोलाइएको राईले बताईन् । केहीदिनपछि हुने अर्को चरणको कार्यक्रममा अन्य खसआर्य पहिचानबादी नेताहरु प्राध्यापक डा. युवराज संग्रौला, प्राध्यापक डा. टंक न्यौपाने, वरिष्ट प्रगतिसिल लेखक खगेन्द्र संग्रौला, वरिष्ट पत्रकार भवानी बराललगायत वक्ताहरुलाई निम्त्याउने योजना रहेको अध्यक्ष राईले सुनाईन्।

प्रकाशित: १० जेष्ठ २०८० ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App