१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमा मात्रै अल्मल्लियो: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरेका छन्।  नविनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसिमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उनको भनाइ छ।

उनले भने – ‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ। हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो। र परम्परा धानिएको पनि छ। नविनता, ऊर्जा, प्रेरणा, महत्वांकांक्षा इत्यादिका कसिमा हामी अझ राम्रो गर्नसक्थ्यौँ होला।’

उनले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि उल्लेख गरे। उनले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन समेत सरकारलाई आग्रह गरे। त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनः विचार गर्नुपर्ने उनको भनाई छ।

उनले भने – ‘बजेटहरु अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने। तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु। पूर्वाधारकै मोडलमा पनि हामीले पुनः विचार गर्नुपर्‍यो। पूर्व तयारी, लागत, सञ्चालको मोडालिटी इत्यादिमा हामीले नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ।’

उनले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने बताए।

प्रकाशित: ९ जेष्ठ २०८० ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App