१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सार्कका महासचिव सियाल र उपराष्ट्रपति पुनबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा शिष्टाचार भेट गर्दै सार्कका नवनियुक्त महासचिव अजमद हुसेन बी सियाल। तस्बिर: उपराष्ट्रपतिको कार्यालय

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेट गरेका छन्। आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गरेका हुन्।  

भेटमा उपराष्ट्रपतिले सार्कको काम गराइको गति बढाउनुपर्ने बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उनले विगतमा सार्कको काम गराइको गति सुस्त भए पनि सार्कको विकल्प नभएको बताए। उपराष्ट्रपतिले विभिन्न चरणमा सार्कमा भएका सहमति संझौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिए। उनले पाकिस्तानमा गत नोभेम्बरमा तय भएको १९ औं सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद भएको बताउँदै १९ औं शिखर सम्मेलन छिटो हुनुपर्नेमा जोड दिएका थिए।  

भेटमा उपराष्ट्रतिले सार्कको महासचिवमा नियुक्त हुनुभएकोमा अजमद हुसेन बी सियाललाई बधाई दिएक थिए। उनले नवनियुक्त महासचिवको कार्यकालमा सार्कले गति लिने विश्वास व्यक्त गरे।

उपराष्ट्रपतिसँगको शिष्टाचार भेटमा सार्कका नवनियुक्त महासचिवले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले गति लिने बताए। उनले विगतमा सार्कको गतिविधि सुस्त भए पनि अब सार्कलाई कसरी पुनर्जागरण गर्न सकिन्छ भनेर आफूले पहल थालेको बताए। सार्क महासचिवले गत नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं शिखर सम्मेलन नहुनु दुःखद भएको बताए। उनले दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व बढेको बताए।

आजै (बुधबार) उपराष्ट्रपति पुनसँग नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्स र पाकिस्तानका कार्यबहाक राजदूत जावेद अह्मद उमरानीले शिष्टाचार भेट गरेका छन्। बुधबार दिउँसो उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बंगलादेश र पाकिस्तानका राजदूतले छुट्टा छुट्टै शिष्टाचार भेटगरेका हुन्।

 

प्रकाशित: २ चैत्र २०७३ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App