९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

भन्सार कार्यालयले प्रक्रिया मिचेर बेचेको ‘मल’ को अनुसन्धान अख्तियारले गर्ने

ज्यादै कठिन वातावरणका बीच नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएर भए पनि नियन्त्रणमा लिएको एक हजार तीन सय बोरा रासायनिक मललाई गौर भन्सार कार्यालयले आधाभन्दा कममा मूल्यमा बेचेको घटनाको छानबिन अख्तियारले गर्ने भएकाे छ।

२० लाख दुई हजारभन्दा बढी मूल्यको रासायनिक मललाई भन्सारका नायब सुब्बा रेवती रोक्काले मिलेमतोमै बेचेको भनेर आलोचना र असन्तुष्टि बढेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले लिलामी बढाबढका कागजपत्रहरू झिकाएका छन्।

कागजपत्रहरूको प्रारम्भिक अध्ययन गर्दा त्रुटिपूर्ण देखिएकोले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने प्रजिअ मिश्रले जानकारी दिए।

गौर भन्सार कार्यालयका कार्यालय प्रमुख बिदामा बसेको मौका छोपी नासु रोक्काले नियम र प्रक्रिया मिच्दै लिलामी बढाबढमा भाग लिन चाहनेलाई रोक्दै आर्थिक चलखेलको आधारमा बिस लाखभन्दा बढी मूल्यको मलखाद दश लाख दुई हजारमा बिक्री गरेका थिए।

गौर भन्सार कार्यालयका नासु रोक्काले आफूले मल खादको लिलाम बढाबढ पूर्ण रुपमा नियम र प्रक्रिया अनुसार नै गरेको बताएका छन्। सड्ने तथा गल्ने किसिमका सामग्रीहरूलाई अवस्था हेरी चौबिस घण्टाभित्र लिलामी गर्नुपर्ने कानुनी आधार रहेको बताउँदै नासु रोक्काले भ्याट तथा प्यानमा दर्ता भएका संस्थाहरूलाई प्रक्रियामा लगेको तर मलको कारोबार गर्ने संस्थालाई मात्र रासायनिक मलको ठेक्का दिएको बताए।

रासायनिक मलको कारोबारमा कुनै किसिमको आर्थिक चलखेल भएको कुरालाई अस्वीकार गर्दै नासु रोक्काले लिलाम प्रक्रियामा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा अन्य कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी गराए।

भन्सार कार्यालयका नासु रोक्काले रासायनिक मल खादको लिलाममा कुनै चलखेल नभएको बताए पनि बेपारीहरुले भने लाखौँको चलखेल भएको बताएका छन्।

लिलाम बढाबढ प्रक्रियामा करिब २१ लाख रुपैयाँको चलखेल भएको बेपारीहरुको भनाइ रहेको छ। बेपारीको भनाइको अडियो नागरिककर्मीसँग पनि सुरक्षित छ। 

 

यो पनि पढ्नुहोस्

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

 

प्रकाशित: ३ जेष्ठ २०८० १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App