९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्न महामन्त्री थापाको माग

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा काँग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने माग गरे। उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए।

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे। कुनैपनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्वनमा पर्ने उनको भनाइ छ। उनले पार्टीको बैठकमा यसबारेमा छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गरे। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताए। उनले पार्टीका नेताहरु भ्रष्टाचारी भएपनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे।

उनले भने, ‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो। नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानूनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ। अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ। यो खालको राष्ट्रबिरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुुनपर्छ। त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन। एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्वनमा पर्छ। प्रमाणित भएन भने स्वतः आउँछ। यो आग्रह, पूर्वाग्रह होइन। केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदी यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्र्रष्टाचारी हुन सक्दैन। अहिले तत्कालै पार्टीले उहाँलाई निलम्वन गरी आफूबाट अलग राख्नुपर्छ। अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन। जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ।’

प्रकाशित: ३ जेष्ठ २०८० ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App