१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मेची-महाकाली अभियान : सप्तरीमा कार्यक्रम व्यवस्थापन गर्न समस्या

राजविराज- एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट निकालिएका छन्। आफ्ना केही नेताकार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शनिबार पार्टी कार्यालयबाट निकालेका हुन्।

'मान्छे भएकै ठाउँमा मान्छे आउने हुन्, म पार्टी अध्यक्ष भएपछि नेताकार्यकर्ता मेरो घरमा आइहाल्छन् नि', न्यौपानेले भने, 'यो बदनियतपूर्ण तरिकाले अपमानित गरिएको हो।'

रेडक्रस सभापति जोगेन्द्र भगतले भने रेडक्रसको भवन पार्टीलाई भाडामा नदिएको बताए। 'मैले यो भवन जगदम्बा टेक्निकल इन्स्टिच्युट चलाउन दिएको हुँ, पार्टी कार्यालय खोल्नका लागि हैन', भगतले भने, 'रेडक्रसले आफ्नो कार्यालय हाताभित्र कुनै पनि राजनीतिक कार्यक्रम गर्न दिँदैन। त्यसैले उनीहरूलाई निकालेका हौं।'

 मेची–महाकाली अभियानअन्तर्गत एमाले अध्यक्ष केपी ओली सप्तरी आउने तय भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रतिकार गर्ने चेतावनी दिएको छ। मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सप्तरीका सहसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो गर्नुका साथै सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका थिए। त्यस्तै बिहीबार दुवै पक्षबीच झडप भएको थियो।

मोर्चा गाउँ केन्द्रित

२३ गतेको चक्काजाम तथा लाठी जुलुस सफल बनाउन मोर्चाका नेता गाउँ केन्द्रित भएका छन्। मोर्चाका युवा नेताले सदरमुकाममा दिनभर मोटरसाइकल र्‍याली गरिरहँदा नेता भने गाउँगाउँ कार्यकर्ता जुटाउन केन्द्रित थिए। सद्भावना पार्टी वरिष्ठ नेता मृगेन्द्रकुमारसिंह यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जयप्रकाश ठाकुर, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डललगायत नेता कार्यकर्ता बटुल्न गाउँगाउँ पुगेका छन्। 'तयारी तीव्र पारेका छौं', रामसपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले भने।

'प्रतिवाद लोकतान्त्रिक हुनुपर्छ'

नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले लोकतन्त्रमा प्रतिकार पनि लोकतान्त्रिक तरिकाले नै गर्नुपर्ने बताएका छन्। मेची–महाकाली अभियानअन्तर्गत एमाले अध्यक्ष केपी ओली सप्तरी आउन लाग्दा मधेसी मोर्चाले थालेको विरोधको आलोचना गर्दै तिवारीले यस्तो टिप्पणी गरेका हुन्।

'लोकतन्त्र र बहुलवादमा सबै दल, संघसंगठन वा व्यक्तिलाई शान्तिपूर्ण कार्यक्रम, सभा, गोष्ठी गर्ने वैधानिक छुट छ', उनले भने, 'कसैले आफूविरुद्ध विचार व्यक्त गरेकै निहुँमा उसलाई निषेध गर्ने परिपाटी उपयुक्त होइन।' प्रतिकारका लागि मोर्चाले अपनाएको तरिका गलत भएको तिवारीले बताए। उनले भने, 'त्यसप्रति हाम्रो समर्थन छैन। लोकतन्त्रमा लाठी, भाटा लिएर टाउको फोड्ने फोडाउने कार्य सुहाउँदैन।'

प्रतिकार गर्ने थाहा पाएर पनि ओली सप्तरी आउन खोज्नु मधेसीलाई खुला चुनौती दिनु रहेको तिवारीको भनाइ छ। उनले भने, 'हामी पनि ओलीको विरोध गर्छांै, तर लोकतान्त्रिक र अहिंसात्मक तरिकामा रहेर।'

मधेसी दलका केन्द्रीय नेताहरूको काठमाडांै मोहमाथि व्यंग्य गर्दै उनले भने, ' जसलाई मधेस आउनुपर्ने हो तिनीहरू काठमाडांै छाड्दैनन्, जसलाई काठमाडांै बस्नुपर्ने हो, उनीहरू मधेश छिर्दैछन्।' मधेसी नेताहरूले काठमाडांै मोहकै कारण मधेस आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App