नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौति दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाए।
उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भइ अर्को पार्टी खोलेका माधव नेपालसहितका नेताहरुलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेद्वारा विभिन्न स्थानमा सांघातिक हमला गरेको बताए।
उनले भने, ‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ। त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ। मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरो बिरुद्ध आक्रमण गरे। सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे। बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे।’
प्रकाशित: १ जेष्ठ २०८० ११:५१ सोमबार




