१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

खेलाडीको सम्मानमा प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोशी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर १९ स्थित वैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमा साे सुनिश्चित गरी विराटनगर १९ स्थित वैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने तयारी गरेको हो।

विराटनगरमा बुधबार आयोजित खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष देखि ३ वर्ष भित्र सम्पन्न हुने गरी विराटनगरको वैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने बताएका हुन्।

‘नेपाली क्रिकेटको राष्ट्रिय टोलीले प्राप्त गरेको सफलता ऐतिहासिक र गौरवपूर्ण भएकाले खेलाडीको सम्मानमा प्रदेश सरकारले विराटनगर–१९ स्थित वैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने तयारी गरेको छ’ कार्कीले भने ‘आगामी आर्थिक वर्ष देखि निर्माण थालिने रंगशाला ३ वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाइने छ।’

नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय स्तरको खेल मैदान नहुँदा क्रिकेट प्रतियोगिता आयोजना गर्न पनि गाह्रो हुने गरेको उनले बताए। मुख्यमन्त्री कार्कीले पहिलो चरणमा रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको र अर्को चरणमा क्रिकेटका खेलाडी उत्पादनका लागि निजी क्षेत्रसँगको सहकार्यमा क्रिकेट एकेडेमिहरू पनि सञ्चालनमा ल्याउने उनले बताए।

कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले नेपाली खेलाडीहरूले  आर्थिक अभाव, पूर्वाधार अभाव र विभिन्न चुनौतीको सामना गरिरहेको बताए। उनले खेलकुदका पूर्वाधार विकास देखि खेलाडीको मनोबल बढाउने नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याउने स्पष्ट पारे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष राजेन्द्र राउतले क्रिकेट क्षेत्रमा सरकारको लगानी कर्म भए पनि खेलाडीको मिहिनेतले ठुलो सफलता हाँसिल भएको बताए। राउतले खेलाडीलाई पनि सरकारले हेर्नुपर्ने धारणा राखे।

उनले कोशी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सरकारलाई आग्रह गर्दे आवश्यक खेलकुदको पूर्वाधार निर्माणका लागि सहयोग गर्न निजी क्षेत्र पनि तत्पर रहेको सुनाए। 

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, पूर्व क्रिकेट खेलाडी तथा उद्योगी पारस लुनियाँलगायतले क्रिकेटको विकासका लागि सुविधा सम्पन्न रंगशालाको निर्माण गर्न सरकारलाई आग्रह गरे।

कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कोच मोन्टी देशाईलगायत राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गरिएको थियो।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्त रुपमा नेपाली क्रिकेटको राष्ट्रिय टोलिलाई विराटनगरमा दिउँसो नगर परिक्रमा र राती सम्मान कार्यक्रमको आयोजना गरेको हो।

नेपाली क्रिकेट टिमका फिटनेश कोच अब्दुल सतारको उपचारका लागि पनि विराटनगरमा निजी क्षेत्रका तर्फबाट ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो। यस्तै कार्यक्रममा लिलामी गरिएको व्याटबाट उठेको डेढ लाख रुपैयाँ पनि अब्दुल सत्तारको उपचारमा खर्च गरिने आयोजक उद्योग संगठन मोरङले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८० ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App