२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणः चोखिने र चोख्याउने दाउमा नेताहरू

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको दौडधुप पनि बाक्लिएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन्। उनीहरूमध्ये सन्दीप पक्राउ परेका छन्। पूर्वउपप्रधानमन्त्री रायमाझी र प्रतीक थापा भने फरार छन्।

पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफूले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका थिए। उनले उपप्रधानमन्त्री भइसकेको व्यक्ति (रायमाझी) भागेर कहीं नजाने भएकाले बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। तर रायमाझी चार दिनदेखि फरार छन्।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ।

पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले पार्टीका अन्य नेता पनि तानिन सक्ने देखेपछि सत्तारूढ दलतर्फ औंला तेस्र्याउन थालेको छ। प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा तत्कालीन गृहमन्त्री रहेका पार्टी उपाध्यक्ष थापासहितका अन्य नेता पनि तानिन सक्ने डर एमालेलाई छ। थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई प्रहरी हिरासतमा छन्।

ओली सरकारका पालामा २०७६ असार २९ गते गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन भएको थियो, जसको संयोजन तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईले गरेका थिए। यस्तै गिरोहकै सदस्यको सिफारिसमा कार्यदलका सदस्यहरू नियुक्त गरिएको कुरा पनि खुलेको छ। यसकारण तत्कालीन गृहमन्त्री थापा पनि तानिन सक्ने खतरा छ। गृह प्रशासनमा निजामती सेवातर्फका एमालेनिकट कर्मचारी पनि तानिन सक्ने सम्भावना छ।

यसरी आफ्ना नेताहरू अनुसन्धानमा तानिएपछि रक्षात्मक बनेको एमालेले यो प्रकरणमा सत्ताधारी दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा परिवारका सदस्य पनि संलग्न भएको आरोप लगाउन थालेको छ। यसैक्रममा एमाले अध्यक्ष ओलीले शनिबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर ठगी गिरोहमा संलग्न भएको भन्दै चारजनाको नाम दिएको स्रोतको दाबी छ। कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी एवं प्रतिनिधिसभा सदस्य मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ। ओलीले यी चारैजनाको नाम र प्रमाण सरकारी वकिल र प्रहरीमार्फत आफूकहाँ आएको दाबी गरेको स्रोतको भनाइ छ। जसका लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूकहाँ भेट्न पठाइदिन ओलीले गरेको आग्रहमा प्रधानमन्त्री दाहाल सहमत भएको बुझिएको छ।

प्रकाशित: २५ वैशाख २०८० ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App