१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणः सदनमा पनि आरोपप्रत्यारोप

‘भ्रष्टाचार र अनियमितताको विषयमा पक्ष–विपक्ष भएर प्रस्तुत हुनु लाजमर्दो’

फाइल तस्बिर

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा राजनीतिक दलका नेताहरू मुछिएपछि संसद् बैठकमा सांसदहरू आरोपप्रत्यारोपमा उत्रिएका छन्।  

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै केही सांसदले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमाथिको छानबिनलाई अझ प्रभावकारी ढंगले अघि बढाउन माग गरे। तर एमाले सांसदले नक्कली भुटानी शरणार्थी प्रकरण मात्र होइन, विगतमा भएका भ्रष्टाचारका सबै विषयलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै प्रतिवाद गरे। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउनुपर्ने माग नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले गरे। एमालेका सांसदले यो प्रकरणमा जोडिएका सबैलाई पक्राउ पुर्जी काटिनुपर्ने माग गरे।  

बैठक सुरु हुनासाथ सांसदले बोल्नका लागि तँछाडमछाड गरेका थिए। सभामुखलाई बैठक नियन्त्रणमा लिनसमेत कठिन भएको थियो। एमालेका सांसदले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइल पनि खोलिनुपर्ने बताएपछि माओवादीका सांसदले नक्कली शरणार्थी प्रकरणमा आरोप लागेका पात्रलाई सार्वजनिक गर्न एमालेलाई आग्रह गरेका थिए। माओवादी केन्द्रका सांसद माधव सापकोटाले इमानदारीपूर्वक रायमाझीलाई कानुनको दायरमा ल्याउन सघाउन एमालेलाई आग्रह गरे। प्रधानमन्त्रीले बोलेका कुरामा खिसिट्युरी नगरी छानबिनमा सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्रीले बोलेका कुरामा खिसिट्युरी गर्ने, सदन कब्जा गर्ने काम गर्दै विषयान्तर नगरौं बरु टोपबहादुर रायमाझीलाई बुझाऔं त्यसैमा कल्याण छ।’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का प्रमुख सचेतक मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथिसमेत छानबिन गर्नुपर्ने माग गरे। उनले भने, ‘तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्चपदस्थ कर्मचारी र मन्त्रीहरूको समेत नाम मुछिएको छ। त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ। अनि मात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो, त्यो कुरा पत्ता लाग्न सक्छ।’ चौधरीले यसो भनिरहँदा एमाले अध्यक्ष केपी ओली मुसुमुसु गरिरहेका थिए।  

एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको छु,’ उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं। बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं। यती, ओम्नी र लडाकु शिविर काण्डको पनि छानबिन गरौं।’ नेमकिपाका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू कोको हुन् भन्ने जानकारी गराउन सरकारसँग माग गरे। तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भएको उल्लेख गर्दै उनले भने, ‘८७५ जनासँग १० देखि ५० लाख रूपैयाँसम्म उठाउने कोको हुन् ? यी सबै विषयमा छानबिन हुनुपर्यो।’  

एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए। तर कानुनबमोजिम कारबाही हुन्छ भन्नुपर्नेमा प्रधानमन्त्री स्वयंले म छोड्दिनँ भन्दै हिँड्दा संशय पैदा भएको उनले बताए। उनले भने, ‘कतै उहाँमा सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्यसँग पूर्वाग्रह साँध्ने दूषित मनशाय त छैन भन्ने देखिन थालेको छ।’ एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गरे। ‘प्रधानमन्त्रीले मलाई दबाब छ’ भनेको उल्लेख गर्दै थापाले कसले दबाव दिएको हो संसद्लाई जानकारी गराउन माग गरे। उनले भने, ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस्। म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु। त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस्।’  

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा भ्रष्टाचारका शृंखलाबद्ध काण्ड पहिलादेखि चल्दै आएको बताए। उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको गठी र भ्रष्टाचार पछिल्लो उदाहरण भएको उनले बताए। उनले भने, ‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गरौं।’ एमालेका सांसद रघुजी पन्तले भने, ‘छापा मारेर कसकसका सम्पत्ति कति लुटियो छापा मार्नेले जान्लान्, एमालेले छापा मार्ने काममा होइन, संसद्मा विश्वास गर्छ, कानुनमा विश्वास गर्छ।’

कांग्रेसकी सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन्। उनले एक नारी ‘पब्लिक लाइन’मा आएछि पुरुषलाई असह्य हुने परिस्थिति यहाँ बनेको बताइन्। उनले भनिन्, ‘विगतदेखि अहिलेसम्मका सांसदको सम्पत्ति छानबिन होस्। सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राखौं। हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस्। वेबसाइटमा राखियोस्। जनताले देखोस्। कसको के थियो, कहिले थियो, कसको बढ्यो, कसको घट्यो, के स्रोत हो ?’ उनले आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउँदा समस्याको समाधान नहुने बताइन्। उनले ‘भारतमा जस्तो एक नेताले गरेका सम्पूर्ण खर्चको बिल बुझाउने कानुन ल्याउन सक्छौं,’ भनिन्।  कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै कारबाहीको भागीदार हुनुपर्ने बताए। उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्नेमा जोड दिँदै भने, ‘म दोषी छु भने मलाई पनि कारबाही गरांै।’ उनले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षका ३३ सय काण्डको छानबिन गर्नुपर्ने बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन थालेको भन्दै सरकारलाई धन्यवाद दिए। कांग्रेसकी सांसद सरिता प्रसाईंले भ्रष्टाचारको विषयमा सदनमा पक्ष र प्रतिपक्ष भएर बोलेको देख्दा लाज लागेको बताइन्। ‘भ्रष्टाचारीलाई पक्ष र प्रतिपक्ष भएर जोगाउन मिल्दैन,’ उनले भनिन्। एमालेकी सांसद रन्जुकुमारी झाले नेताहरू मानव तस्करीमा लागेको विषयमा पक्ष र विपक्षमा बाँडिन नहुने र दोषीलाई छुट दिन नहुने बताइन्।  

कांग्रेस सांसद सुनील शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिन लगाउन सभामुखको ध्यानाकर्षण गरे। राप्रपा सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गरे। सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढंगले उठाउन नसकेको बताए।  

राष्ट्रियसभामा पनि विरोध  

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीमा कसैको दबाबमा नपरीकन कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे। दोषीमाथि कारबाही हुन सके मात्रै लोकतन्त्र टिकाउ हुने उनले बताए। राष्ट्रियसभामा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले ‘सत्ता गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मन्जु खाणमाथि पक्राउ पुर्जी जारी हुन नसकेको हो ?’ भन्ने प्रश्न गरे। उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आरजुले अढाइ करोड र बालकृष्ण खाणकी पत्नी मन्जुले ६ करोड रूपैयाँ बुझेको अडियो सार्वजनिक भएको आफूले सुनेको तर उनीहरूलाई पक्राउ पुर्जी जारी भएको भन्ने नसुनेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको भन्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।  

प्रकाशित: २५ वैशाख २०८० ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App