नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजद्वारा शुक्रबार आयोजित “रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण” विषयक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
“धेरै लामो समयदेखि नेपालमा छिमेकीसँगको सम्बन्ध सत्ता र पार्टीगत राजनीतिक परिपूरण गर्ने हतियारका रुपमा हामीले प्रयोग गरिरहेका छौँ, सडकमा प्रयोग भइरहेका यस्ता कुराले राष्ट्रियतालाई बलियो बनाएको छैन बरु शङ्का उत्पन्न गरेको छ,” उनले भने।
मन्त्री महतले भने, “कूटनीतिलाई अत्यन्त बुद्धिमतापूर्वक प्रयोग गर्न सकियो भने सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्दछाँै, कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन सक्दछ ।”
कूटनीतिक माध्यमबाट आफ्नो स्वार्थ, हित र अधिकारलाई जोडदार ढङ्गबाट राखेर राष्ट्रिय सुरक्षा सुदृढ र सुनिश्चित भई लक्ष्य पूरा गर्न सकिने बताउँदै उनले भने, “यो बाटोबाट नै जाँदा बुँदागत, तथ्यगत, तथ्याङ्क र तर्कसङ्गत रुपमा हामी छिमेकीलाई मनाउन सक्दछौँ ।
मन्त्री महतले नेपालले भारत र चीनको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरिरहेको बताउँदै “नेपालको भारतसँगको सम्बन्ध चीनसँगको सट्टा होइन, चीनसँगको सम्बन्ध भारतसँगको सट्टा होइन, दुवैसँगको सम्बन्ध विश्वासमा आधारित सम्बन्ध साथसाथै लैजान जरुरी छ, तुलना गर्न आवश्यक छैन।” रासस
प्रकाशित: २८ माघ २०७३ ११:३८ शुक्रबार