१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘पूर्वलडाकुलाई रकम दिने कांग्रेस–एमाले सरकारको निर्णय हो’

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वलडाकुलाई रकम दिने निर्णय २०७१ को सरकारको भएको स्पष्ट पारेका छन्। प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा दाहालले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको जिकिर गरे।  

‘अहिले चर्चा जसरी गरिएको छ। कतिपयले नबुझेर पनि प्रश्न उठाएको लाग्छ मलाई। कतिपयले बुँझेरै वातावरण धमिल्याउन प्रचार गरेको पनि देख्छु,’उनले भने, ‘पूर्वलडाकुलाई रकम दिने कुरा २०७१ सालमा त्यतिबेलाको सरकारले गरेको निर्णय हो। त्यतिखेर हामी सरकारमा थिएनौं। कांग्रेसको नेतृत्वमा सायद विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो।’ त्यतिखेर शान्तिमन्त्री टोपबहादुर रायमाझी रहेको उनले बताए।  

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए। आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए। माओवादीले गरेजसरी प्रचार गरिएको कुरा झुटो रहेको उनको भनाइ छ। मन्त्रिपरिषद्ले नै सो निर्णय पारित गरेको उनले बताए। तर, अर्थमन्त्रीले यस विषयमा आफूलाई थाहा नभएको अभिव्यक्ति दिएका थिए। पूर्वलडाकुलाई पैसा दिनुपर्ने र अदालतले पनि भनेको तर अहिले आर्थिक अवस्थाका कारण किस्ताबन्दीमा दिनुपर्ने उनले बताए।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। रास्वपा सरकारमा सहभागी हुने विषयमा कुरा चलिरहेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए। आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए। माओवादीले गरेजसरी प्रचार गरिएको कुरा झुटो रहेको उनको भनाइ छ।

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनी अडिन्छन् भन्ने आफूलाई नलागेको बताए। सत्ता साझेदार दलबीच सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।’ उनले यही सरकार पाँच वर्ष चल्ने बताए। उनले भने, ‘सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम हो।’ आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए। सो क्रममा उनले महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपार्इंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने। हिंड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदोरहेछ भन्नुभयो, हाँसीहाँसी।’ बस्नोस् त भन्न मिल्दैन, बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले बताए। प्रधानमन्त्री दाहालले थपे, ‘यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो हो। मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए।

तेस्रोपटक दाहाल आफ्नो निवासमा  

भरतपुर महानगरपालिका १४ स्थित शिवनगरमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको घर अघिपछि निकै सुनसान हुन्थ्यो। तर, सोमबार बिहान भने निकै चहल पहल थियो। दाहाल घरमा आएको थाहा पाएपछि नेता कार्यकर्तादेखि छिमेकीसम्म भेट्न आएका थिए। दाहालले भरतपुर–१४मा चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने गरी घर बनाएका थिए। मंसिरको चुनावी तयारीका क्रममा उनी असोज १० गत घरमा सरे। त्यसपछि उनी तेस्रोपटक आफूले बनाएका घरमा आएका हुन्।  

भरतपुरदेखि झण्डै १६ किलोमिटर पश्चिममा प्रचण्डले घर बनाएका छन्। त्यतिखेर बिरामी श्रीमती सीतालाई लिएर प्रचण्ड घर सरेका थिए। तर, अहिलेसम्म तीन पटकमात्र प्रचण्डमा घरमा आए। आइतबार चितवन आएका प्रचण्ड रात आफ्नै निवासमा बिताए। पहिलोपटक असोज १० गते रात बिताएका उनले दोस्रोपटक निर्वाचनको समयमा आएका थिए।  

एकतले घर करीव १० कठ्ठा जग्गामा बनेको छ। ५० फिट लम्बाइ ३५ फिट चौडाइको घर बनेको छ। चारैतिर कम्पाउण्डले घेरिएको छ। बिचमा ठुलो खाली ठाउँ छन्। एक छेउमा बगैंचा समेत बनाइको छ। पर्खाल वरिपरी फुलहरू छन्। आगनमा ढुंगा विछ्याईएको छ। मूलघर नजिकै सुरक्षाकर्मी र अन्य सहयोगी बस्नका लागि केही कोठा निकालेर टिनको छाना भएका अस्थायी संरचना पनि बनाइएको छ। पछाडि टिनको छाना हालेर किचनसमेत निकालिएको छ। काठमाडौंमा ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेका प्रचण्डको घर पैत्रिक सम्पत्तिमा बनेको हो।  

प्रचण्डको घर रेखदेख गर्न दुई जना प्रहरी खटिएका छन्। उनको घरमा प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल कहिले काही जाने गर्छिन्। सो समय बाहेक प्रचण्डको घरको मुल ढोका बन्द नै हुन्छ। घरको सरसफाई गर्न भरतपुर महानगरपालिकाका कर्मचारी जाने गरेको बताईएको छ। अब यस घरमा रेनु दाहाल बस्ने बताइएको छ। उनी हाल भरतपुर १०मा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको एक घरमा बस्दै आएकी छन्।  

प्रकाशित: १९ वैशाख २०८० ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App