२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु: शिक्षामन्त्री राई

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताएका छन्।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा आज उनले शिक्षा क्षेत्र सम्मानित र राष्ट्रनिर्माताहरू तयार पार्ने क्षेत्र भएकाले यसको सुधारका लागि ध्यान दिएर लाग्ने बताए।

“माध्यमिक शिक्षा व्यक्तिको ज्ञान प्राप्त गर्ने महत्वपूर्ण जग हो, धेरै लामो समय शिक्षा क्षेत्रमा लगानी गर्नुभएका व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। शिक्षकबिना शिक्षण र सिकाइको परिकल्पना हुन सक्दैन। शिक्षकको समस्या हाम्रो पनि समस्या हो। शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने छु”, मन्त्री राईले भने, “शिक्षाका क्षेत्रमा भएका समस्या सबैको साझा समस्या हुन्। यसलाई मिलेर सम्बोधन गर्नुपर्नेछ।”

उनले शिक्षक र शिक्षा क्षेत्रका विषयमा सरकार र शिक्षकबीच भएका सम्झौता झुलाउनका लागि नभएर समस्या समाधानका लागि नै भएको बताउँदै विभिन्न समस्याका कारण ती कार्यान्वयन हुन ढिलो भएको औँल्याए।

मन्त्री राईले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न र राज्यलाई सधैँ अविवेकीरूपमा नबुझिदिन आग्रह गरे। उनले विवेकसहितको राज्य हुनुपर्छ भन्दै आफूहरू इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न लागिपरेको उल्लेख गरे।

प्रकाशित: १६ वैशाख २०८० १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App