१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरानमा मेयर र वडाअध्यक्षहरुबीच संवाद नहुँदा कार्यपालिका बैठक अवरुद्ध

मेयरका समर्थक र राजनीतिक दलका कार्यकर्ताहरु सडकमा, मुडभेठको खतरा बढ्दै

बुधबारको कार्यपालिका बैठकमा बस्न नसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मेयर हर्क साम्पाङ। तस्बिर: रोहित राई

विगत एक महिनादेखि मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच उब्जिएको विवाद समाधान नहुँदा धरान उपमहानगरपालिकामा राजनैतिक संकट गहिरिदै गएको छ।

मेयर र वडाअध्यक्षहरुबीच संवादहिनताको अवस्थाले निरन्तर तेस्रो पटक कार्यपालिका बैठक अवरुद्ध भएको छ। मेयरले बुधबार बोलाएको बैठकमा कोही पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु आएनन्। स्वतन्त्रबाट निवार्चित मेयर र राजनीतिक दलहरुबाट निवार्चित वडाअध्यक्ष र कार्यपाकिला सदस्यहरुबीच शुरुदेखि नै तिक्ततापुर्ण सम्बन्ध बनेको छ।

अहिले वडाअध्यक्षहरु मेयर साम्पाङविरुद्ध आन्दोलनमा छन् भने मेयरका समर्थकहरु पनि वडाअध्यक्षहरुविरुद्ध उत्रिएका छन्। मेयरका सामर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीचको गालीगलौज र आरोप प्रत्यारोपको श्रृंखला सामाजिक सञ्जालमा मात्र सिमित छैन। केही दिनयता समर्थकहरु सडकमा नै उत्रिन थालेपछि धरानमा राजनैतिक मुडभेठ निम्त्याउने जोखिमले नागरिक अगुवाहरु चिन्तित पनि छन्।

तीन दिनअघि स्वतन्त्र नागरिक समाजले र्यालीसहित उपमहानगरपालिकामा पुगेर मेयरलाई ज्ञापनपत्र बुझाएका थिए। मेयर साम्पाङका समर्थकहरुको यो संस्थाले पुर्वजनप्रतिनिधि, कर्मचारीसँगै मेयरको आलोचना गर्ने वडाअध्यक्षहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेको थियो। उक्त मागलाई मेयर साम्पाङले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएर दर्ता गराएका छन्।

मेयर साम्पाङका समर्थकहरु सडकमा उत्रिएपछि राजनीतिक दलका भातृ युवा संगठनहरु पनि आन्दोलित भएका छन्। बिहिबार राष्ट्रिय युवा संघ नेपाल, तरुण दल, वाइसिएल, समाजवादी युवा संगठन, लिम्बुवान युवा मञ्चले पनि र्यालीसहित उपमहानगरपालिकामा पुगेर मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले मेयर साम्पाङले संस्थागत र विधिसम्मत निर्णय नगरि मनोमानीढंगले खानेपानी अभियान सञ्चालन गरेको, खानेपानी बोर्डको बैठक नबसि करोडौं खर्च गरेको, विदेशबाट आएको सहयोग संस्थागत बैक खाताबाट नभै व्यक्तिगतरुपमा खर्च गरिरहेको र हिसाब पनि पारदर्शीरुपमा सार्वजनिक नगरेको जस्ता आरोपहरु लगाएका छन्।

मेयरका स्वकिय सचिवले वडाअध्यक्षहरुलाई सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाउन पत्राचार गरेको बिषयले गत चैत १ गतेको कार्यपालिका बैठक अवरुद्ध भएको थियो। उक्त बैठकमा कडा अभिव्यक्ति दिएका वडा नं १० का अध्यक्ष विवेक राईलाई मेयर साम्पाङले स्पष्टीकरण पत्र काटेपछि समस्या झन् गहिरिएको थियो। त्यसयता वडाअध्यक्षहरुले कानुन विपरीत वडाअध्यक्षलाई स्पष्टीकरण सोधेका मेयरले आत्मालोचना गरेर माफी माग्नुपर्ने, अयोग्य स्वकीय सचिवमार्फत वडाअध्यक्षलाई निर्देशनात्मक पत्राचार गरेकोमा पनि आत्मालोचना गरि भुलसुधार गर्ने र स्वकीय सचिवलाई कारबाही गर्नुपर्नेलगायत ५ बुँदे माग अघि सारेका थिए।

आफूहरुको ५ बुँदे मागहरु पुरा नभएसम्म मेयर साम्पाङले बोलाएको कार्यपालिका बैठकमा सहभागी नहुने अडान वडाअध्यक्षहरुको छ। ‘नियम, कानुन, विधि र प्रक्रिया विपरीत जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई पनि छैन। राम्रो काम गर्दा साथ हुन्छ, गलत काम गर्दा खबरदारी हुन्छ,’ वडा १७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज)ले भने,‘हाम्रो मागबारे अहिलेसम्म केही सुनुवाई भएको छैन, हामी निरन्तर आन्दोलनमै छौं।’

जनप्रतिनिधिहरु मिलेर आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्नुपर्ने बेला झगडा गरिरहदा उद्योगी, व्यवसायीहरु पनि चिन्तित छन्। मिलेर धरानको विकास गर्नुपर्ने जनप्रतिनिधिहरु दुई ध्रुवमा बाँडिदा उद्योगी, व्यवसायी, धराने जनता र नगरको विकासमा पनि थप गम्भीर असर पर्ने भन्दै सुनसरी उद्योग वाणिज्य संघले विज्ञप्तीमार्फत वार्ता र संवादबाट समस्याको समाधान गर्न आग्रह गरेको छ। अध्यक्ष विजय श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बजेट बनाउनुपर्ने महत्वपुर्ण समयमा बैठक नै बस्न नसकेको खबरले संघलाई दुःखी बनाएको छ। यस बिषयम परिस्थितिमा दुवै पक्षहरुले लचकता देखाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधानतिर लाग्न सुझाव दिन चाहन्छुँ।’

उपमेयर अइन्द्रबिक्रम बेघा भने बजेटको तयारी स्वरुप राजश्व परामर्श समितिको बैठक बसेर आन्तरिक तयारी गरिरहेको बताउँछन्। साथै, राजनीतिक संकट हल गर्न आफूले पहल गरहेको उनले बताए। मेयर र वडाअध्यक्षहरुसँग निरन्तर संवाद गरिरहे पनि दुवै पक्षले हठ नत्यागेको कारण गाँठो फुकाउन नसकिएको उनले बताए। ‘हामी द्वन्द्व चर्काउने कि व्यवस्थापन गरेर जाने? सबैले निकास दिन सहजीकरण गर्नुपर्छ,’बिहिबार कार्यपालिका बैठक नभएपछि उनले भने,‘हामीले नै सिमा र कमजोरीलाई सच्याएर लैजानुपर्छ। यही टेवलमा बसेर समस्या समाधान हुन्छ भनेर पहल गरिरहेको छुँ।’

वडाअध्यक्षहरु जस्तै मेयर साम्पाङ पनि आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी वडाअध्यक्षहरुको मागबारे बाहिर कतै छलफल नगर्ने अडानमा छन्। आफूले कार्यपालिका बैठक राखिरहेको तर वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु नै नआएर आफ्नो पदीय कर्तव्य पुरा नगरेकोले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग मेयर साम्पाङले दोहोर्याउदै आएका छन्। ‘मैले बैठक राखेर सबैलाई बोलाएकै छुँ। उहाँहरु नै आउनुहुन्न, के समस्या हो, यही आएर राखेहुन्छ,’मेयर साम्पाङले भने,‘बैठक यसरी नै बहिष्कार गरिरहने हो भने उहाँहरुले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

वुद्धिजिवि एवं महेन्द्र बहुमुखी क्याम्पसका अवकाशप्राप्त सहप्रध्यापक हरिप्रसाद दाहाल आआफ्नो हठ र स्वार्थ त्यागेर धरान र धराने जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्दा तत्काल समस्याको समाधान हुने बताउँछन्। जनप्रतिनिधिहरुलाई टेवलमा बसेर संवादमार्फत निष्कर्षमा पुग्न पनि उनले सुझाव दिए। स्वतन्त्रबाट र राजनीतिक दलबाट निवार्चित जनप्रतिनिधिहरुले एकले अर्काको अस्तित्व स्वीकारेर अघि बढ्नुपर्ने उनले बताए। ‘धरानले विगतमा पनि धेरै क्षति व्यहोरेको छ, अब पनि यस्तै वेमेल र झगडा गरिरहने हो भने दीर्घकालिनरुपमा विकासमा असर पुग्छ,’उनले भने,‘मेयर र अध्यक्षहरुले एकले अर्कालाई आरोप लगाउदै बसेर निष्र्कषमा पुगिदैन। टेवलमा बसेर संवाद गर्ने, एकअर्काको कुरा सुन्नुपर्छ। धरानको विकासमा दत्तचित्त हुनुपर्छ। समस्याको समाधान यसरी नै हुन्छ।

प्रकाशित: १४ वैशाख २०८० १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App