१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि शनिबार विश्वासको मत लिने भएका छन्। माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबारविश्वासको मत लिने भएका हुन्। 

नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमा पनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो। अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने भन्नेमा द्विविधामा थिए। 

माओवादीको समर्थन बिना मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ। सोहि कारण मुख्यमन्त्री अधिकारी विश्वासको मत नलिने बिचारमा थिए। तर अन्य प्रदेशमा पनि संसदको सामना गर्दै विश्वासको मत लिने तयारी भएपछि गण्डकीमा पनि विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री अधिकारी निकट श्रोतले बताएको छ। त्यसबाहेक गण्डकीका एमाले सांसदले पनि संसदको सामना गर्न सुझाव दिएपछि उनी विश्वासको मत लिने निश्कर्षमा पुगेको श्रोत बताउँछ।  ‘शुरुमा मुख्यमन्त्री ज्यू विश्वासको मत लिने पक्षमा हुनुहुन्थेन। तर, सांसदहरुको सुझाव र सबै प्रदेशमा विश्वासको मत लिने तयारी पछि उहाँपनि विश्वासको मत लिने तयारीमा जुट्नु भएको हो,’ श्रोतले भन्यो। 

अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिईसक्नुपर्ने छ। माओवादीले गत चैत १० गते विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्ने बाध्यता मुख्यमन्त्री अधिकारीलाई छ। नेपालको संविधान अनुसार विश्वासको मत फिर्ता लिएको ३० दिनभित्र बहालवाला मुख्यमन्त्रीले विश्वासको मत लिईसक्नुपर्ने हुन्छ। अन्यथा मुख्यमन्त्री स्वतः पदमुक्त हुने व्यवस्था छ। 

विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बैशाख ९ गते दिउँसो ३ बजे बोलाइएको छ। प्रदेश सभा सचिवालयले पनि विश्वासको मत लिने मुख्यमन्त्रीको पत्रपछि प्रदेश सभा बैठकको कार्यसूचीमापनि राखिसकेको छ। प्रदेश सभा सचिव हरिप्रसाद पोखरेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्रीको पत्र आएपछि सोहि अनुसार सांसदहरुलाई खबर पठाईसकिएको जानकारी दिए। उनले भने, ‘विश्वासको मत लिने २४ घण्टा अघि संसदमा जानकारी आउनुपर्ने हुन्छ। सो अनुसार मुख्यमन्त्रीको पत्र आएकाले हामीले सांसदहरुलाई खबर पठाईसकेका छौं।’

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने छैन। माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सदस्यको मात्र विश्वासको मत दिने देखिएकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ। 

विश्वासको मत नपाउने देखेरै नेकपा एमालेले माओवादीलाई मुख्यमन्त्री लिन प्रस्ताव गरिसकेको छ। गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने देखेपछि एमालेले माओवादीका हरिबहादुर चुमानलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको हो। तर माओवादीले भने एमालेको प्रस्ताव अस्वीकार गरिसकेको छ। एमाले निकट श्रोत भन्छ, ‘हामीले अनौपचारिक रुपमा माओवादीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थियौं तर उसले केन्द्रको समीकरण भत्किने गरी मुख्यमन्त्री लिन सक्दैनौं भनेर प्रस्ताव अस्वीकार गरिसकेको छ।’

प्रकाशित: ७ वैशाख २०८० ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App