५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अख्तियारले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको छः सांसद डा. सिंह

‘नेतालाई छुने बित्तिकै न्यायाधीशलाई महाअभियोग लगाइन्छ’

सांसद डा.अमरेशकुमार सिंहले गणतन्त्र आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको दाबी गरेका छन्।

उनले बुधबार प्रतिनिधिसभामा प्रस्तुत अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ छलफलमा भाग लिँदै यस्तो बताएका हुन।

‘विगतदेखि अहिलेसम्म अख्तियारको प्रगति खास गरी गणतन्त्र आएपछि २०६३ पछि हेर्ने हो भने अख्तियारले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको छ’, डा. सिंहले भने।

उनले आफू अघिल्ला कार्यकालमा राज्य व्यवस्था समितिमा रहेर अख्तियारका हरेक वार्षिक प्रतिवेदन अध्ययन गरेको उल्लेख गर्दै भने, ‘हामीले दुई वटा संस्थालाई थिलथिलो बनाएका छौं। एउटा सर्वोच्च अदालत र अर्को अख्तियार।’

डा. सिंहले सर्वोच्च अदालतले नेतालाई छुने बित्तिकै महाअभियोग लगाउने गरिएको टिप्पणी पनि गरे। ‘कुनै न्यायाधीश बलियोलाई होइन, कमजोरलाई हाम्रो हिन्दु देशमा कहिले पनि शेर र बाघको बलि हुँदैन। पाठो र बाख्रोको बलि हुन्छ। परेवाको बलि हुन्छ। त्यस्तै ठुलो नेताहरू शेर हुनुहुन्छ। बाघ हुनुहुन्छ। उहाँहरुले कहाँ भ्रष्टाचार गर्नुभएको छ। त्यस कारण आजसम्म अख्तियारले २०६३ को आन्दोलनपछि एउटा पनि राजनीतिक दलको नेता, एउटा पनि मन्त्री, एउटा पनि पूर्व प्रधानमन्त्रीलाई एउटा पनि व्यक्ति माथि भ्रष्टाचारको कारबाही गरेको छैन’, उनले भने, ‘भ्रष्टाचार गरेको छ एक हजार खाने कार्यालय सहयोगीले गरेको छ। ५हजार खाने पुलिसले भ्रष्टाचार गरेको छ।’

अरबौंको भ्रष्टाचारको अख्तियारको नजरमा नआउने गरेको डा. सिंहले दाबी गरे। ‘किनकि त्यहाँ भागबण्डाको नियुक्ति प्रक्रिया छ। किनकि नियुक्ति हुने व्यक्तिदले पहिलै गएर नेताहरुलाई भन्छ हजुर चिन्ता नलिनुस् जस्तो वाइड बडि, एनसेल होस म छुँदैन यस्तो भन्छ अनि कहाँबाट भ्रष्टाचार निर्मूल हुन्छ?’,उनले भने।

उनले अख्तियार भ्रष्टाचार नियन्त्रणमा अख्तियार निर्मम हुनुपर्ने बताए। ‘जबसम्म भ्रष्टाचारी र भ्रष्टाचार गर्ने राजनीतिक दलका नेतालाई कारबाही हुँदैन। देशबाट भ्रष्टाचार उन्मूल हुँदैन। भ्रष्टाचारको जड राजनीति हो’, डा. सिंहले भने।

उनले भ्रष्टाचारको जड महँगो राजनीति भएको दाबी गरे। ‘पहिले सिंहदरबार मात्र भ्रष्टाचार हुन्थ्यो। अहिले गाउँ गाउँका सिंहदरबारमा भ्रष्टाचार छ। सिंह भएपछि भ्रष्टाचार गर्नुपर्‍यो नि। हामी त देशको राजा हो नि’, डा. सिंहले भने।

प्रकाशित: ६ वैशाख २०८० ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App