२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वडा अध्यक्षहरुद्वारा कार्यपालिका बैठक बहिष्कार, मेयर साम्पाङले अध्यक्षहरुको मागे राजिनामा

कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेपछि धरानका मेयर हर्क साम्पाङले वडाअध्यक्षहरुको राजिनामा माग गरेका छन्।

मेयर साम्पाङले बोलाएको बैठकमा मंगलबार पनि वडाअध्यक्षहरु अनुपस्थित भएका थिए। दिउँसो २ बजे बोलाइएको बैठकमा वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई मात्र उपस्थित भएका थिए। अघिल्लो दिन सोमबार पनि कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्षहरु आएका थिए। निरन्तर २ पटक बोलाइएको बैठक बहिष्कार गरेपछि मेयर साम्पाङले पदीय जिम्मेवारी पुरा नगरेको र जनादेशको अवहेलना गरेको भन्दै वडाअध्यक्षहरुले नैतिकताको आधारमा राजिनामा दिन आग्रह गरे। उनले भने,‘यो तरिकाले चल्दैन। वडाअध्यक्षहरुले बैठक बहिष्कार गरिरहने हो र पदीय जिम्मेवारी पुरा नगर्ने हो भने उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ।’

मेयर साम्पाङले वडाअध्यक्षहरु जनताबाट के को लागी चुनिएको भन्ने पनि बुझ्न नसकेको बताए। उनले सानो कुरालाई उचालेर जनताको मतादेशलाई अवहेलना गरिरहेको भन्दै त्यसो नगर्न पनि सचेत गराए। बैठक बहिष्कार गरिरहने हो भने आफू वैकल्पिक व्यवस्थामा जान पनि बाध्य हुने उनको भनाइ थियो। ‘बैठक बस्दिन भन्ने कारण के हो? जनताको मतादेशलाई यसरी अवहेलना गर्न मिल्छ? त्यसो गर्नेले राजिनामा दिएर बाटो प्रशस्त गरिदिनुपर्छ,’ उनले भने।

उपमेयर बेघाले बैठक गर्न निरन्तर प्रयास भइरहे पनि सफल नभएको बताए। उनले बैठकमा आएर समस्याबारे छलफल गरेर निकाश निकाल्नुपर्ने पनि बताए। उपमेयर बेघाले भने,‘समस्या जे छ, त्यो बैठकमा नै बसेर निकास निकाल्नुपर्छ। तर किन उहाँहरु सहभागी नभएको हो भन्ने औपचारिकरुपमा हामीलाई जानकारी नै छैन। उहाँहरु आएर छलफल गर्ने हो भने त कुरा मिलिहाल्छ नि।’

बैठक बहिष्कार गर्ने वडाअध्ययक्षहरुले भने आफूहरुले अघि सारेको ५ बुँदे मागबारे कुनै छलफल र सम्बोधन नभएको कारण बैठकमा नजाने निर्णय गरेको बताएका छन्। कार्यपालिका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्षसुर्यबहादुर भट्टराई (मनोज)ले भने, ‘हामी त आन्दोलनमा नै छौं। हाम्रो ५ बुँदे मागबारे मेयरसँग कुनै छलफल र सम्बोधन भएको छैन। त्यसैले हामीले बैठकमा नजाने निर्णय गरेको हो।’

मेयर साम्पाङका स्वकिय सचिव सुर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाइदिन पत्राचार गरेका थिए। यो नियम, विधि र प्रक्रिया विपरीत स्वकियले पठाएको र आफूहरुको अपमान भएको भन्दै वडाअध्यक्षहरुले गत चैत १ गतेको कार्यपालिका बैठकमा चर्को विरोध जनाएका थिए। यो विवादले एजेण्डामा प्रवेश नगरि बैठक स्थगित भएको थियो भने वडाअध्यक्षहरुले विभिन्न ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए। वडाअध्यक्षहरुको आन्दोलनमा विभिन्न राजनीतिक दलहरुले समर्थन जनाउदै विज्ञप्ती जारी गरेको थियो भने कार्यकर्ताहरु भेला गरेर सभा पनि गरेपछि सम्बन्ध झन् चिसिएको थियो।

सोमबारको बैठकमा उपस्थित वडा ४ का अध्यक्ष धनबहादुर राईले कार्यपालिका बैठक नहुदा आफ्नो वडामा संघ र प्रदेशबाट खानेपानी उपभोक्तालाई छुट्टिएको ७१ लाख बजेट फ्रिज हुने अवस्था आएको भन्दै चिन्ता प्रकट गरेका छन्। ‘कार्यपालिकाले पास गरेर पान नम्बर लिएपछि बजेट कार्यान्वयन हुन्छ। वडा नं ४ जस्तो विकट र १० प्रतिशत मात्र विकास भएको वडाको लागी यो पनि ठुलो बजेट हो,’उनले भने,‘त्यो बजेट फ्रिज हुँदा जनताले मलाई प्रश्न गर्छ। जसको जिम्मेवारी कस्ले लिने हो?’

वडा नं ६ का अध्यक्ष भट्टराईले सामान्य कमजोरी, त्रुटीहरुलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जनप्रतिनिधिहरु बैठकबाट भागिहिड्नु उचित नभएको टिप्पणी गर्छन्। ‘पन्छिएर कहिलेसम्म भाग्ने? धरानभरिको समस्या पोख्ने ठाउँ नै यही बैठकमा हो,’उनले भने,‘अब २ महिना मात्र आर्थिक बर्षको बाँकी छ। आन्तरिक राजश्व घटेको यो अवस्थामा केन्द्र, प्रदेशको बजेटले काम गर्ने अवस्था छैन। कस्को कारणले हो? बैठकमा नआउने अध्यक्षहरुले जिम्मेवारी लिनुपर्छ कि पर्दैन? समन्वय गरेर वार्ता गरेर समझदारीमा जानुपर्छ।’

प्रकाशित: ५ वैशाख २०८० १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App