१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बारा २: उपेन्द्र भन्दैछन, ‘सङ्घीयता र पहिचान’, पढे लेखेका सिके भन्छन्, ‘धरतीपुत्र’

यादव र सिकेबीच वर्चस्वको लडाई

बारा २ मा मत माग्दै पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा।

लामो सयमसम्म उपेन्द्र यादवसँगको राजनीतिक संगत टुंग्याएर तराई– मधेस राष्ट्रिय परिषद्का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले(जेपी) बारा २ को उपनिर्वाचनबारे एक अन्तरवार्तामा भनेका छन, ‘चुनावमा उपेन्द्रलाई हराउनका लागि सीके राउतले बोलेका कतिपय कुराहरु गलत र अव्यावहारिक छन्। तर, ती कुराहरु नगरे उपेन्द्रलाई हराउन पनि सकिँदैन।’

जेपीको अन्तवार्ताको यो अंशमाथि पत्रकार सिताराम अग्रहरीले टिप्पणी गरेका छन् ‘सिकेले बोलेको कुरा गलत हो भने उनको राजनीति सही कसरी हुनसक्छ? उपेन्द्र यादवलाई हराउन सकिदैन गलत गरेबिना यदि यो निष्कर्ष हो भने राजनीति कहां पुगिसक्यो! उनको टिप्पणी छ,‘ सिकेको शैलीको बारेमा भने म स्पष्ट छु, यो स्वाभाविक प्रक्रिया हैन।’ उनले थपेका छन्,‘ मैले पहिलेपनि भनेको हुं, राजनीति भनेको गाली गलौज हैन।’

बारा २ को उपनिर्वाचनमा सिकेको जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहालाई मत माग्न सिकेले उपेन्द्र यादवमाथि गलत र अव्यवहारिक शब्द प्रयोग गर्दै आएका छन्। जुन प्रसंग गुप्ताले अन्तवार्तामा समेत उल्लेख गरिसकेका छन्। सिकेको प्रवेशले बारा २ को उपनिर्वाचन संसद प्रवेश मात्रको प्रतिस्पर्धा नभई ‘वर्चश्वको लडाइँ’ बनेको छ।  किनभने सीके राउत अहिले मधेसमा आफ्नो स्पेस बनाउन खोजेको अवस्था छ। र, सिकेले आफ्नो स्पेस बनाउन उपेन्द्र यादवलाई संसद प्रवेशमा रोक्न सम्पूर्ण दाउपेंच प्रयोग गरिरहेका छन्।

बारा २ बाट पाँच दलीय सता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपछि जनमतका सिके राउतले उनलाई निसाना बनाएका हुन। जनमतले माओवादी केन्द्रका शिवचन्द कुशवाहालाई पार्टीमा भित्र्याएका यादवविरुद्ध उभ्याएका छन्। र, प्रचारप्रसारमा सिके आफैं कुदिरहेका छन्। 

‘यादवसँग बलियो शक्तिको स्रोत भनेको मधेस विद्रोहको लिगेसी, कसिलो संगठन र पाँच दलको साथ छ। मधेस विद्रोह जसले काठमाडौं र मधेसबीचको सम्बन्धमा उथलपुथल ल्याइदियो। जसले राज्य पुनर्संरचनामा संघीयता थपिदियो। जसले किनाराकृत समुदायलाई मूलधारमा ल्याउन आरक्षणको व्यवस्था ल्याइदियो। यसको लिगेसी उपेन्द्र यादवलाई जान्छ,’ मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जयसवाल भन्छन्। उनका अनुसार उपेन्द्र यादवको अर्को शक्तिको स्रोत भनेको निश्चित जातीय समूहमा बलियो पकड हो। यो जातीय समूहको भोट बैंक उनीसँग सुरक्षित छ।  

उनका प्रतिस्पर्धी शिवचन्द्र कुशवाहाको फेस भ्यालु तुलनात्मक रुपमा कमजोर ठान्ने यस क्षेत्रमा धेरै छन्। सिके राउतको शक्तिको स्रोत भनेको पढेलेखेको नेता हुन। सप्तरीको चुनावमा उनले एक घर एक रोजगारको नारा लगाएर भोट बटुले।

तर, चुनावी नाराअनुसारको बचन पूरा गर्न सकेनन्। जसकारण उनको फेस भ्यालुमा तुलनात्मक रुपमा कमी आएको छ। सिकेले बारा २ मा धरतीपूत्र र बाहिरियाको नारामा समाज र चुनावलाई विभाजित बनाउने कसरत गर्दै छन्।

राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘संघीयता र मधेसीको पहिचानलाई संस्थागत गराउन सक्नु चानचुने कुरा होइन। यसको जस उपेन्द्र यादवलाई जान्छ। संघीयता, पहिचान स्थापित, आरक्षणलगायतका उपलब्धि उपेन्द्रको पक्ष बलियो बनाउन काफी छन्। कमजोरी छन्, नभएका होइनन् तर उपलब्धि र योगदान वजनदार छन्।’

कांग्रेस, माओवादी, एकिकृत समाजवादीसँगै लोसपाले समेत उपेन्द्रलाई समर्थन गरेको अवस्था छ। मधेसी जनता मधेस केन्द्रित दल मिलेर चुनावमा आओस् भन्ने चाहना राख्छन्। ०७४ को चुनावमा मधेस केन्द्रित दल मिलेर चुनाव लड्दा मधेसमा बहुमत प्राप्त गरेका थिए। यस तथ्यले मधेस केन्द्रित दल मिले मधेसको मत खनिने प्रष्ट हुन्छ।

सीके राउतले उपेन्द्रको पक्ष र विपक्षमा मधेसको राजनीतिलाई ध्रुवीकरण गर्न खोजेको देखिन्छ। बारामा भइरहेको उपनिर्वाचन उपेन्द्र यादव भर्सेस सीके राउत भएको छ। शिवचन्द्र कुशवाहा एउटा पात्रको रुपमा मात्र उम्मेदवार भएका छन्। उपेन्द्रलाई हराउन पाएपछि मधेसमा मेरो स्पेस बढ्छ भन्ने सोचको साथ सीके राउत हरेक रणनीति अपनाइरहेका छन्।  

यो क्षेत्रमा ५ पालिकामध्ये जसपा नेतृत्वको पालिका प्रमुख, उपप्रमुख २, कांग्रेस २ र एमाले १ पालिकाको प्रमुख र उपप्रमुखमा छन्। निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन्।

यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन्। देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन्। ०७९ मंसिर को संसदीय निर्वाचनमा कूल एक लाख पाँच हजार मतदाता मध्ये ६७ हजार अर्था ६४ प्रतिशत मत खसेको थियो।

गणितका हिसावले कमजोर जनमत पार्टी माहोलको भरमा जित निकाल्ने सम्भावना न्युन छ। तर, जसपासहित सत्ता गठबन्धन पाँच दलको बर्चश्व रहेको क्षेत्रमा जनमतका उम्मेदवार कुशवाहाले हार्दा पनि सिकेका लागि उपलब्धी हुनेछ। कारण उनी पहिलाको भन्दा मत आर्जन गर्ने पक्का छ।  

प्रकाशित: ५ वैशाख २०८० १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App