४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘राष्ट्रपति पौडेल बेलायत जाने’

राष्ट्रपति रामचन्द्र पौडेल यही वैशाख २३ गते (मे ६ तारिख) मा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएको छन्। उनी बेलायती राजा चाल्र्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन त्यता जान लागेको आइतबार राष्ट्रपतिनिकट स्रोतले जानकारी दिएको छ।

‘राष्ट्रपति पौडेल आगामी वैशाख २३ गते लन्डनस्थित वेस्ट मिनिस्टर गिर्जाघरमा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोह कार्यक्रममा सहभागी हुने भएका छन्,’ राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने, ‘राष्ट्रपति पौडेल बेलायती राजा चाल्र्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन आगामी वैशाख २१ गते बेलायत प्रस्थान गर्ने तालिका छ। राष्ट्रपति पौडेलको यो पहिलो विदेश भ्रमण पाँच दिनको हुनेछ। पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाली समुदायलाई समेत भेटघाट गर्नेछन्।’ बेलायत नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो देश हो।

यसअघि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका थिए। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधनपछि उनका उत्तराधिकारी तथा बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोह तीन दिनसम्म मनाइँदैछ। बकिङ्घम दरबारले बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन २ हजार पाहुनालाई निमन्त्रणा पठाइसकेको छ।

नेपालबाट २० वर्षपछि राष्ट्रप्रमुखको बेलायत भ्रमण हुन लागेको हो। यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए। त्यसअघि तत्कालीन राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए।

प्रकाशित: ४ वैशाख २०८० ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App