१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंको मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्छ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  काठमाडौं महानगरपालिकाका मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्ने बताएकी छिन्।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले  काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानून र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने बताएकी हुन्।

उनले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छिन्। उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन्। कुनै अर्को उद्देश्य पुर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको उनको भनाइ छ।

मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नपाइने बताइन्। उनले संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘स्थानीय तहपनि सरकार हो। त्यसले संविधान पनि बुझ्नुपर्छ। त्यसले नीति पनि बुझ्नुपर्छ। कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ। हाम्रो कयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन्। त्यो कुरा बेठिक पनि लाग्न सक्छन्। तर या त्यसलाई परिवर्तन गर्ने सामथ्र्य राख्नुपर्छ। होइन भने भएको व्यवस्था कानूनी मान्छेले, हामी जनप्रतिनिधि मान्छेले कानून, संविधान मान्दैनौँ भन्यौ भने हुन्छ के? यसले के खालको शन्देश जान्छ र समाजमा के प्रभाव पार्छ? कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुरा त सकारात्मक सन्देश त प्रवाह गर्दैन। संविधानको अनुसूचि ८ मा एकल अधिकार क्षेत्र भित्रमा फोहोरमैला व्यवस्थापनको कुरा स्थानीय तहको हुनेछ भन्नेकुरा स्पष्ट छ। स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हे¥यौँ भने त्यहाँ बुँदागत रुपमा के–के गर्ने स्थानीय सरकारले भनेर त्यो कुरा लेखिएको छ। तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पुर्तिका निमित्त र अर्को कुनै कामलाई सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु हुन्न। किनभने यो गर्मीको समय, आम जनताको स्वास्थ्यसँग जोडिएको विषय, यो धेरै संवेदनशील विषय हो। त्यसकारण जिम्मेवार पदाधिकारीले यस्तो विषय बोल्नु, यस्ताखालका कदम चाल्नु भनेको कुरा राम्रो होइन। यसले राम्रो सन्देश दिँदैन। यसले जनस्वास्थ्य माथिको खेलवाड पनि ठहर्छ। यो विषय यसरी होइन, संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा त छलफल गर्नुप¥यो। उहाँले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन। त्यो गर्न हुँदैन । काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नुभएन, कानून बुझ्नुभएन, सरकार सञ्चालन ऐन बुझ्नुभएन भन्न हामी सक्दैनौँ। त्यो उहाँले बुझ्नुभएको छ। बुझ्नुपर्छ। र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो।’

प्रकाशित: ३० चैत्र २०७९ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App