१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नाराबाजीबीच संशोधन प्रस्तुत

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेसहित ९ दलको विरोध तथा चर्को नाराबाजीबीचमै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालको संविधान (दोस्रो संशोधन २०७३) आइतबार संसद्मा पेस गरेको छ। संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले विपक्षी गठबन्धनको अवरोधका बीचमै  संशोधन बिधेयक पेस गरेका हुन्। संशोधन प्रस्ताव पेसभइरहँदा संसद् भवनभित्र प्रतिपक्ष सांसदको चर्को नाराबाजी र होहोल्ला बाहिरसम्मै सुनिएको थियो।

प्रस्तावक कानुनमन्त्री नायकले प्रतिपक्षीको विरोध हुँदाहुँदै पनि निर्वाचनको वातावरण बनाउनका लागि संशोधन प्रस्ताव पेस गर्नुपरेको बताए। 'हिजोको राष्ट्रिय आवाश्यकता संविधान जारी गर्नु थियो, आजको राष्ट्रिय आवश्यकता संशोधन गरेर निर्वाचनका लागि वातावरण बनाउनु हो,' मन्त्री नायकले भने, 'त्यसैको सन्दर्भमा यो (संशोधन प्रस्ताव टेबुल) गरिएको हो।' उनका अनुसार संशोधन प्रस्ताव पेसभए पछि संसदीय प्रक्रिया अनुसार ३० दिनसम्मको म्याद राखेर सर्वसाधारणका लागि सार्वजनिक सूचना जारी गरिनेछ।

प्रतिपक्षी दल आफूहरूको विरोध हुँदाहुँदै पनि संशोधन विधेयक संसद्मा पेस गर्न अनुमति दिएको भन्दै सभामुख ओनसरी घर्तीसँग आक्रोशित बनेका छन्। एमाले उपाध्यक्ष बामदेव गौतमले उक्त घटनालाई 'लज्जास्पद' भनि टिप्पणी गरेका छन्।

'सभामुखज्यूले सम्पूर्ण प्रतिपक्षीले एक भएर विरोध गरिरहेका बेला विधेयक प्रस्तुत गर्न दिनुभयो, अनुमति दिएको घोषणा पनि गर्नुभएको छ, हाम्रो देशको संसद्मा आज (आइतबार) अत्यन्त लज्जास्पद घटना भएको छ,' गौतमले भने।

संशोधन पेसगर्नका लागि सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रसँग कुनै पनि खाले सहमति नभएको पनि गौतमले बताए। सहमतिका लागि आग्रह गर्दागर्दै पनि सरकारले जबरजस्ती संशोधन पेसगरेको गौतमको आरोप छ। तर, विपक्षीले अराजक तरिकाले संसद्मा अवरोध नगर्ने पहिला नै प्रस्टाइएको उनले बताए।

'प्रधानमन्त्रीज्यूलाई तपाईंहरूले प्रतिपक्ष रहदाँको बखतमा  विरोध गर्दा जसरी सांघातिक हमला गर्नुभएको थियो, त्यो चाहिँ हामी कहिल्यै गर्दैनौं', प्रधानमन्त्रीलाई दिएको जबाफ उद्धृत गर्दै गौतमले भने, 'हामीले जसरी विरोध गर्दै आएका छौं, आज पनि त्यसरी नै विरोध गछौं भनेका थियौं।'

उनका अनुसार प्रतिपक्षी सांसदले कुर्सीबाट उठेर नाराबाजी गरेर 'संसदीय शैलीमा अवरोध' गरेका हुन्। 'हामीले पेस गर्न पहिला पनि दिएनौं, आज पनि हाम्रो सहमतिमा पेसभएको होइन्' गौतमले भने, 'संसारका संसदीय व्यवस्था भएका देशमा सम्पूर्ण प्रतिपक्ष विरोधमा रहेका बेला कुनै पनि विधेयक पेस भएको इतिहास छैन, कुनै पनि विषयवस्तु पारित पनि हुँदैन, जो आज नेपालको संसद्मा सुरु भयो, यो विडम्बना हो।' उनका अनुसार सरकारको जबरजस्तीविरुद्ध प्रतिपक्ष दलको बैठक बसेर नयाँ रणनीति तय गरिनेछ।

संशोधन पेसभइरहदाँ संसद्मा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भनेे अनुपस्थित थिए। पहिलो बैठक सकिएलगत्तै शीर्ष नेतासँग छलफल गरेर बाहि रिएका देउवा संसद् भवन फर्किएनन भने ओली संसद् चल्दाचल्दै बैठकस्थल छाडेर हिँडेका थिए।

विधेयक सर्वोच्च अदालतको फैसलाविपरीत भएको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले विरोध जनाएका थिए। विपक्षीबाट नाराबाजी भइरहेका बेला  सभामुखले संशोधन प्रस्ताव गर्न कानुनमन्त्रीलाई अनुमति दिएकी थिइन्।  

बैठकमा स्थानीय तहको निर्वाचन विधेयक, २०७३ प्रस्तुत हुँदा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई महाभियोग समितिमा पठाउने प्रस्ताव पारित गर्दा एमालेसहित विपक्षी दलले विरोध गरेनन् ताली बजाएर उक्त दुईवटा विषयलाई प्रक्रियामा लैजना सहयोग गरे। प्रतिपक्षी दलको आइतबार बिहान भएको निर्णयानुसार यी विधेयक पेस गर्दा विरोध नगरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए।

'स्थानीय तहको निर्वाचन सम्बन्धी विधेेयक र महाभियोग प्रस्तावमा हिजो पनि विरोध थिएन्, आज यी दुई अजेन्डा पेस हुँदा विरोध नगर्ने औपचारिक निर्णय नै भएकाले संसद्मा अवरोध नगरेका हौं,' ढकालले नागरिकसँग भने, 'तर, सभामुखज्यूले पटकपटक विपक्षीको विरोधका बाबजुद संसद् चल्न सक्दैन भन्ने आफ्नै यसअघिका रुलिङको विरुद्धमा बैठक सञ्चालन गरिदिनुभयो, यसले सन्देश राम्रो जाँदैन्।'

निर्वाचनसम्बन्धी चारवटा प्रस्ताव निरन्तर पेसगरेका कानुनमन्त्री नायक महाभियोग प्रस्ताव र संशोधनमा विरोधको सूचना दिने नेमकिपाका सांसद प्रेम सुवाल बोल्ने समयमा पनि रोष्ट्रममा नै बसिरहे। सामान्यतयाः प्रस्ताव पेस गरेपछि मन्त्री फर्केर आफ्नो कुर्सीमा गएर बस्ने र सभामुखले बोलाए पछि पुनः रोष्ट्रममा जाने संसदीय प्रचलन रहँदै आएको छ। तर, आइतवारको बैठकमा भने कानुनमन्त्री नायक रोष्ट्रममा लामो समय उभिए। प्रतिपक्षले उनलाई अवरोध गर्न सक्ने अवस्था त्यहाँ हुन सकेन। उनी सुरुमै रोष्ट्रममा  पुगिसकेका थिए।

मन्त्री नायकले रोष्ट्रममा धेरैपटक आवातजावत गर्नुभन्दा कार्य सम्पन्न गरेर मात्रै फर्कने उद्देश्यअनुरुप रोष्ट्रम नछाडेको जिकिर गरेका छन्। 'कतिपटक तलमाथि आउनु जानु गर्नु भनेर त्यहीं बसेको हुँ, काम सम्पन्न गरेर फर्कने भनेर म तल नझरेको हुँ,' उनले नागरिकसँग भने।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने प्रतिपक्षको सहयोगपछि मात्रै आइतबार उक्त संशोधन पेसगर्न सकिएको दाबी गरेका छन। 'प्रतिपक्षको सहयोगले नै संशोधन पेसहुन सकेको हो, अब मुलुक स्थानीय तहको निर्वाचनतर्फ मोडिन पुगेको छ,' सापकोटाले भने, 'प्रस्ताव पेस भएसँगै मुलुक सहमतिको दिशातर्फ लम्किएको छ।'

यसअघि बसेको संसद्को पहिलो बैठकले पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। संसद्को बैठक बस्नुअघि बसेको कार्यव्यवस्था समिति बैठकमा कार्यसूचीमा रहेका दुईवटा विषय प्रवेश गराउन दिने जानकारी सभामुख घर्तीलाई प्रतिपक्ष दलले गराएको मालेका सचेतक अइन्द्रसुन्दर नेम्बाङले बताए। 'निर्वाचन र महाभियोगको विषय संसद्मा प्रवेश गराउँदा अवरोध गर्दैनौं तर संशोधनमा प्रस्ताव गर्न दिँदैनौं भनेर जानकारी गराएका थियौं'। नेम्बाङले भने।

कार्यव्यवस्था समितिको बैठकपछि प्रमुख तीन दलको बैठक बसेको थियो, जसमा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव पेस गर्न नदिने र अवरोध जारी राख्ने अडान दोहोर्‍याए। त्यसपछि प्रधानमन्त्री दाहाल र ओलीबीच  अलग्गै छलफल भएको थियो। एमालेले संशोधन विधेयकको विरोधमा मंसिर १६ देखि संसद् अवरुद्ध गर्दै आएको थियो।

प्रकाशित: २५ पुस २०७३ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App