१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार बिस्तार गर्न र न्यूनतम साझा कार्यक्रम ल्याउन सरकारले ढिलो गर्याे: सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन। बडूले गठबन्धन बनिसकेपछि पनि यत्ति लामो समयसम्म सरकार बिस्तार गर्न र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ गरेको बताए। 

उनले सरकारको अहिलेको प्राथमिकतामा सङ्घीयताको कार्यान्वयन, जर्जर रहेको आर्थिक अवस्था उकास्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। बडूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने कुरा पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने पनि बताए।

उनले भने, ‘अहिलेको आवश्यकता समयले खोजेको प्राथमिकता के हो? भन्ने हो। त्यसलाई हामीले पहिचान गर्न सक्नुपर्छ। त्यसलाई प्राथमिकताअनुसार कार्यक्रम निर्धारण भयो भने कार्यान्वयन पनि हुन्छ भन्ने विश्वास हामी राख्नुपर्छ। अहिले सरकारले पनि पूर्णता ठ्याक्कै पाइसकेको छैन, पाउनुपर्ने हो, यसमा ढिलाइ भइरहेको छ। यत्ति ढिला पनि हुनु हुँदैन थियो। यसले केही बाँकी रहेपनि गठबन्धन सरकारले निर्धारण गर्नुपर्ने साझा न्यूनतम कार्यक्रम सरकारले सार्वजनिक गरिसक्नुपर्ने हो, त्यसमा पनि ढिलाइ भइरहेको छ। अहिलेको आवश्यकता सङ्घीयतालाई कार्यान्वयन गर्ने विषय हो, दोस्रो अहिलेको आर्थिक अवस्था जर्जर छ, यसलाई कसरी उकास्ने र सबल अर्थतन्त्र निर्माण गर्ने भन्ने कुरा, आत्मनिर्भर अर्थतन्त्रको कुरा पहिलो प्राथमिकतामा पर्नुपर्छ, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने पनि हो।’

सांसद बडूले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा लैजाँदा धेरै समय लाग्ने भएकाले संसदबाट नै टुङ्ग्याउने कुरामा सरकार पक्षको जोड रहेको बताए।

प्रकाशित: २३ चैत्र २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App