९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दलहरूको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो। 

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्रको प्रतिनिधिसभा सदस्यको पद खाली हुन पुगेको थियो। त्यहाँ कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई खडा गरेको छ। नौ जना चुनावी प्रतिस्पर्धामा रहेको उक्त क्षेत्रमा एमालेले नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई उठाएको छ। मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ६ बाट पराजित खनाललाई नै एमालेले फेरि तनहुँमा उम्मेदवार बनाएको हो।

त्यस्तै चितवन २ मा नेपाली कांग्रेसले पार्टीका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने एमालेले रामप्रसाद न्यौपानेलाई मैदानमा उतारेको छ। सोही क्षेत्रबाट रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि लामिछाने सो क्षेत्रबाट निर्वाचित भए पनि नेपाली नागरिकता कायम नहुँदा सर्वोच्चले उनको पद बदर गरिदिएको थियो। त्यस क्षेत्रमा १२ स्वतन्त्रसहित विभिन्न दलका २४ उम्मेदवार मैदान उत्रिएका छन्।  

त्यस्तै बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै प्रतिनिधिसभा सदस्य रिक्त भएको हो। बारा २ मा १२ राजनीतिक दलसहित ३६ जनाको उम्मेदवारी परेको छ। त्यहाँबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टी अध्यक्ष सिके राउतसँग यादव पराजित भएका थिए। प्रतिनिधिसभा प्रवेशका लागि उनी फेरि बारा २ बाट उम्मेदवार बनेका छन्। यादवलाई रोक्न जनमत पार्टीले शिवचन्द्रप्रसाद कुशवाहलाई उम्मेदवार बनाएको छ। त्यहाँ एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ भने रास्वपाले रमेशप्रसाद खरेललाई उम्मेदवार बनाएको छ। नेपाल प्रहरीका पूर्वअधिकृत खरेल मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार बनेका थिए। सुशासन पार्टीका अध्यक्ष खरेलले बारा २ मा भने रास्वपाबाट उम्मेदवारी दिएका हुन्। तीनवटा क्षेत्रमा आठ महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

बारामा सबैभन्दा बढी ५ महिला उम्मेदवार छन् भने चितवनमा दुई र तनहुँमा एक महिलाको उम्मेदवारी परेको छ। सरकारको नेतृत्व गरेको माओवादीले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार खडा गरेको छैन। बारामा उपेन्द्र यादवलाई र बाँकी दुई क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने छ। त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि माओवादीले जस्तै बारामा यादव र तनहुँ एवं चितवनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। कांग्रेसले बारामा जसपा उम्मेदवार यादवलाई समर्थन गर्नेछ भने लोकतान्त्रिक समाजवादी पार्टीले पनि गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने छ। उम्मेदवारी मनोनयन दर्तादेखि चुनाव प्रचारका लागि कांग्रेसले दुई महामन्त्रीलाई खटाएको छ भने एमाले मिसन ग्रासरुट अभियानअन्र्तगत खटिएका नेतालाई नै जिम्मेवारी तोकेको छ। राप्रपाले पनि पार्टीका प्रभावशाली नेताहरूलाई जिम्मेवारी दिएको छ।

प्रकाशित: २१ चैत्र २०७९ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App