१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

लमजुङ (बेँसीसहर)-  उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताएका छन्।

पाँचौं लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताए। आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उनको भनाइ थियो।

“सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,” – मन्त्री जोशीले भने “नीति नियममा सहजीकरण गर्न सरकार लागीपरेको छ ।” उद्योग सञ्चालनका लागि आवश्यक कानुन नियमावली परिमार्जनको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उनले बताए।

मुलुकको समृद्धि विकास उद्योगबाट मात्रै सम्भव भएको भन्दै मन्त्री जोशीले राष्ट्रिय हैसियत राख्नेखालका उद्योग सञ्चालनमा ल्याइने बताए। राजनीतिक अस्थिरताका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उनले अब मुलुक आर्थिक उन्नतिमा लम्किएको दाबी गरे। हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा यहीँ उत्पादन गर्ने बताए।

उद्योग वाणिज्य सङ्घ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मन्तव्य राखेका थिए। मन्त्री जोशीले आजै बेसीसहरमा सञ्चालनमा ल्याइएको हुलाकी बेकरी उद्योगको समेत उद्घाटन गरे। रासस

 

प्रकाशित: ३ पुस २०७३ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App