१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन: मन्त्री खड्का

काठमाडौं- खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई टुँगो नलगाएसम्म निर्वाचन गर्न नहुने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले भने,‘संसदमा दर्ता भैसकेको विषय संविधान संशोधन प्रस्तावलाई तत्काल टुँगो लगाउनुपर्छ अनिमात्रै निर्वाचनमा जानुपर्छ।’

मन्त्री खड्काले संशोधन प्रस्ताव सदनमा दर्ता मात्रै भएकोले यसलाई छलफल नै गर्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्नु अप्रजातान्त्रिक भएको टिप्पणी गरे। उनले अघि थपे,‘संशोधन प्रस्तावमाथि छलफल गर्नुको साटो एमालेले संसद अवरुद्ध गरिरहेको छ, यो अप्रजातान्त्रिक छ।’

मन्त्री खड्काले एमालेले बोलेका कुरा राष्ट्रवादी हुने अनि अरुले बोलेको कुरा राष्ट्रघाती कसरी हुन्छ भन्दै प्रश्न समेत गरे। उनले भने,‘प्रस्तावमा चित्त नबुझे यसको विपक्षमा मतदान गरे भैहाल्यो नि, किन संसद अवरुद्ध गरिरहनुपर्यो?’ उनले एमालेले गरेको संसद अवरुद्धका कारण जनताका जनप्रतिनिधिले आफ्नो कुरा राख्न समेत नपाएको गुनासो पोखे।

उनले संविधान कार्यान्वयनको लागि पनि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको बताउँदै भने,‘दलहरु मिल्नुको विकल्प छैन, चुनाव गर्नको लागि पहिले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाउनुपर्छ, संशोधन प्रस्तावलाई पहिले टुँगो  लगाउनुपर्छ।’

उनले सत्तारुढ दल काँग्रेस र एमालेभित्रैका मधेसका नेताहरुको पनि चाहना संशोधन प्रस्तावलाई पहिला टुँगो लगाउनुपर्ने रहेको उल्लेख गर्दै थपे,‘त्यसैले प्रस्तावलाई पहिला टुँगो लगाउनुपर्छ अनिमात्रै निर्वाचनमा जानुपर्छ।’ उनले एमाले लगायतका विपक्षी दलहरुकोको निरन्तर संसद अवरुद्धको कारण अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावपनि आझेलमा परेको बताए।

उनले पूरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखे। खड्काले चुनावभन्दा अघि संशोधन प्रस्ताव र महाअभियोग प्रस्तावलाई चाँडो टुँग्याउनुपर्नेमा जोड दिए।

प्रकाशित: २ पुस २०७३ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App