२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एआइजी बढुवामा चारजना सिफारिस

नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरू अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले एआइजी दरबन्दी रिक्त भएको एकसाता नबित्दै सोमबार नै बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्ने डिआइजीहरूमा प्रहरी प्रधान कार्यालयको कार्यविभाग, कार्य निर्देशनालयमा कार्यरत सन्दिप भण्डारी, प्रहरी प्रधान कार्यालयकै विशेष ब्युरोमा कार्यरत सुदीप गिरी, प्रहरी प्रधान कार्यालयकै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत मीरा चौधरी र अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत टेकबहादुर तामाङ रहेका छन्।  

यसपटकको बढुवा सिफारिसमा पनि डिआइजी बढुवा हुँदाको बरीयता मिचिएको छैन। बढुवा भएका चारैजना प्रहरी महानिरीक्षक(आइजिपी) वसन्तबहादुर कुँवरसँगै गत असार १९ गते प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट डिआइजीमा बढुवा भएका प्रहरी अधिकृत हुन्। उतिबेला एकैसाथ १७ जना एसएसपी डिआइजीमा बढुवा भएका थिए।  

तीनै १७ जना डिआइजीमध्येबाट यही चैत ६ गते सरकारले आइजिपी कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गरी पाँचजनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। डिआइजी बढुवा हुँदा कुँवर पहिलो, राई दोस्रो, थापा चौथो, ज्ञवाली पाँचौ र बज्राचार्य छैठौं नम्बरमा थिए। तेस्रो नम्बरमा बढुवा भएका अशोक सिंह उमेर विवादका कारण राजीनामा दिएर बाहिरिएका थिए। त्यसपछिको डिआइजी बढुवा हुँदाको वरियतामा अहिले एआइजी बढुवा सिफारिस भएका भण्डारी सातौं, गिरी आठौं, चौधरी नवौं र तामाङ १० औं नम्बरमा थिए।  

प्रहरीमा अहिले पदपूर्ति गर्न खोजिएका चार एआइजी दरबन्दीहरू चैत १० गतेको मध्यरातबाट रिक्त भएका थिए। निवर्तमान आइजिपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ गते प्रहरी निरीक्षक(इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका एआइजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहनी पनि ३० वर्षे सेवावधिकै कारण १० गते मध्यरातबाट अवकाश गएका थिए। चैत ६ गते एआइजीमा बढुवा भएका कुँवर आइजिपीमा बढुवा भएपछि उनको एआइजी दरबन्दी पनि रिक्त भएको थियो।  

यसरी रिक्त भएका चार एआइजी दरबन्दी पदपूर्ति गर्नेगरी बढुवा समितिले सिफारिस गरेको हो। बढुवा समितिको सिफारिसअनुसार अब कम्तिमा एकसातापछि मन्त्रिपरिषद्ले उनीहरूलाई एआइजीमा बढुवा गर्नसक्नेछ। प्रहरीमा ८ जना एआइजीको दरबन्दी कायम छ।

१३ डिआइजी बढुवा  

यसैबीच, प्रहरीमा रहेका २० जना डिआइजी दरबन्दीमध्ये ९ दरबन्दी रिक्त भइसकेका छन्। सोमबार बढुवा सिफारिस भएका चारजना डिआइजी एआइजीमा बढुवा भएपछि रिक्त डिआइजी दरबन्दीको संख्या १३ पुग्नेछ। फागुन १० गते उमेर विवाद उत्पन्न भएपछि डिआइजी अशोक सिंह राजीनामा दिएर बाहिरिएपछि पहिलो दरबन्दी रिक्त भएको थियो। त्यसपछि आइजिपी कुँवरसँगै राई, थापा, ज्ञवाली र बज्राचार्य डिआइजीबाट एआइजीमा बढुवा भएपछि चैत ६ गतेबाट थप पाँच दरबन्दी रिक्त भएका थिए।  

प्रकाशित: १४ चैत्र २०७९ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App