coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन। सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन्। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्। पार्टी पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘पर्सि (सोमबार) सम्म क्याबिनेट विस्तार गरेर डेलिभरीका कुरामा अघि बढ्ने विषयमा छलफल भएको छ।’

 पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई गठबन्धनका सबै दलसँग अलगअलग र सामूहिक छलफल गरी मन्त्रालय भागबन्डामा सहमति जुटाउन सुझाव दिएको जानकारी पौडेलले दिए। उनले भने, ‘छिट्टै क्याबिनेट विस्तार हुन्छ।’

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई आठ मन्त्रालयसहित सरकारमा सहभागी गराउने योजनामा छन्। कांग्रेस त्यसका लागि करिबकरिब तयार रहेको देखिन्छ। कांग्रेसको कुल सिट संख्यालाई १० ले भाग गर्दा आउने भागफल बराबर मन्त्रालय दिने/लिने तयारी छ। उसले पाउने मन्त्रालयमा भने बढी चासो रहेको माओवादीनिकट स्रोतको दाबी छ। प्रधानमन्त्री दाहाल कांग्रेसलाई अर्थ, परराष्ट्रसहितका मन्त्रालय दिने पक्षमा छन्।

त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिलेकै संख्यामा मन्त्रालय लिने तयारीमा छ। प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तत्काल सरकारमा सहभागी नगराउने रणनीतिमा गठबन्धनका अन्य दल रहेको स्रोतको दाबी छ। कांग्रेस, माओवादीलगायत दलका शीर्ष नेता प्रतिनिधिसभा सदस्यको वैशाखमा हुने उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने पक्षमा छन्।

रास्वपाको सम्पन्न बैठकले उपप्रधान तथा गृह मन्त्रालय पाए दाहाल नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको जनाएको छ। अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि रास्वपा माघ २२ गते दाहाल नेतृत्व सरकारबाट अलग भएको थियो। रास्वपाका लागि केही मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने तयारी छ। त्यस्तो नभए कांग्रेस र माओवादीले थप एकएक मन्त्रालय पाउनेछन्।

प्रधानमन्त्री दाहाल जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई पनि दुई/दुई मन्त्रालय दिने तयारीमा छन्।

जसपाले उपराष्ट्रपति पाइसकेको छ भने नेकपा एसले गृहसहित तीन मन्त्रालयमा दाबी गर्दै आएको छ। नेकपा एसले आलोपालोमा पार्टीका सबै सांसदलाई सरकारमा पठाउने रणनीति बनाएको छ। पहिलो चरणमा राजेन्द्र पाण्डे, प्रकाश ज्वाला सरकारमा सहभागि हुने निकट स्रोतको दाबी छ। लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसहितका साना चार दललाई एकएक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ। जनमत पार्टी अहिले नै सरकारमा छ।

नेपाली कांग्रेस पदाधिकारीको शनिबार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार, प्रतिनिधिसभा सदस्य उपनिर्वाचन, संसद्मा पेस भएका संक्रमणकालीन न्यायसँग सम्बन्धितलगायत विभिन्न विधेयकका विषयमा छलफल भएको छ। सत्ता गठबन्धनका अन्य दलसँग सहमति जुटाएर सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन्।

प्रकाशित: १२ चैत्र २०७९ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App