१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजीनामा, समर्थन पनि फिर्ता

गण्डकीका माओवादी मन्त्रीहरु शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा पत्र बुझाउँदै।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको शुक्रबार दिउँसो बसेको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यस लगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादीका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजीनामा दिएका छन्। गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रीहरुले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि माओवादीले काँग्रेससँग छलफल गरेको थियो। छलफलमा माओवादीले आगामी सरकारमा आलोपालोसँगै पहिलो कार्यकालमै सरकारको नेतृत्व मागेको थियो। तर काँग्रेस नेताहरुले भने केन्द्रबाटै सबै कुरा टुङ्गिने भएकाले यसलाई अहिले प्रमुख विषय बनाउन नहुने भन्दै ठोस जवाफ नदिएको श्रोतले बताएको छ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। उनले चाँडै काँग्रेससँग मिलेर नयाँ सरकार निर्माण गरिने र पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने बताए। सरकारमा आलोपालो गर्ने भन्ने त टुंगिसकेको छ,उनले भने, ‘यो त नेताहरुले पहिल्यै टुंग्याईसकेको विषय हो। तर पहिलो कार्यकाल नै माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो कुरा हो।’

यसअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपनि प्रदेशमा पनि आलोपालो सरकार बन्ने बताइसकेका छन्। तर काँग्रेसले आलोपालो सरकार बनाउन गण्डकीमा आनाकानी गर्दै आएको छ।

माओवादी र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए। तर माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ। ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनमा बनेको सरकारलाई माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो। अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

अधिकारीले विश्वासको मत नपाएको खण्डमा काँग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ। काँग्रेसको २७ सांसद भएकाले माओवादी र काँग्रेस मिल्ने बित्तिकै गण्डकीमा बहुमत पुग्छ। उसो त स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलेपनि काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइएको छ।

प्रकाशित: १० चैत्र २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App