१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध

विवादपछि रोकिएको यलम्बर मार्गमा निर्माणाधीन कल्भर्ट। तस्बिरः महेश्वर

स्थानीय बासी र ठेकेदारबिचको विवादका कारण सदरमुकाम गाईघाटस्थित करोडौँको विकासे योजना निर्माण सुरुवाती चरणमै अवरुद्ध हुन पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।  

धमाधम काम भइरहेको ‘करमगाछी–नयाँ बस्ती–घलेटोल–गाईघाट स्तरोन्नति सडक योजना’को काम एकाएक विवाद उब्जिएपछि अवरुद्ध हुन् पुगेको हो। सडक निर्माणको क्रममा धुलो मार्न पानी छर्कन तथा सवारी आउजाउ गर्न वैकल्पिक ट्«याक (डाइभर्सन) बनाउन गाउँलेको माग पुरा नभएकाले विवाद सिर्जना भएको स्थानीयहरु बताउँछन्। नाला बनाउन सडकका दुबैतर्फ खाल्डो (होलं खनेकाले डाइभर्सन बनाउन र धुलो मार्न दैनिक पानी छर्कन गाउँलेले गरेको माग पुरा नभएपछि विवाद सिर्जना भएको हो।  

सडक दायाँबायाँ नाला खनेको धुलो घरको भान्सादेखि ओछ्यानसम्म छिरेर हैरान पारेपछि बिहान बेलुका पानी छर्कन गाउँलेले आग्रह गरेका थिए। त्यसैगरी सवारी आउजाउ नरोक्ने गरी डाइभर्सन बनाउन पनि उनीहरुको माग थियो। तर, गाउँलेको मागबारे चासो नदिएपछि सो कुराको गुनासो वडा कार्यालयमा पुगेको थियो। गाउँलेले सरासर काम गर्न नदिएको ठानिरहेको ठेकेदार कम्पनीलाई वडा कार्यालयबाट उही विषयलाई लिएर पत्र आएपछि थप चिढिएर कामै रोकेको आरोप स्थानीयले लगाएका छन्।

‘विकास हाम्रै लागि भएकाले विरोध गर्ने कुरा भएन’ एक स्थानीयले गुनासो गरे ‘तर, कम्तीमा धुलो मार्न पानी छर्कनुपर्छ, आउजाउ गर्न पनि डाइभर्सन बनाउनुहोस् भनेर आग्रह मात्र गरेका हौँ।’ यो कुरा प्राविधिक इस्टीमेटमै उल्लेख गरेको हुनाले ठेकेदारले गर्नुपर्ने बाध्यता भए पनि नगरेपछि गाउँलेले प्रश्न उठाएको उनको भनाई छ। यत्ति कुरा माग गर्दा नै ठेकेदार रिसाएर काम रोक्नु मनासिब नभएको गाउँलेको गुनासो छ।  

वडाध्यक्ष किरण पाण्डेले वडा बासी जनताको माग जायज भएको तर, ठेकेदारले पानी नछर्केको र डाइभर्सन पनि नबनाएपछि स्थानीय बासी रिसाएर वडा कार्यालयसम्म गुनासो गर्न आएको बताए। उनले सडक निर्माण गर्ने ठेकेदारले नियमित पानी छर्कने तथा आउजाउ गर्न डाइभर्सन बनाउनुपर्ने सम्झौतामै उल्लेख हुने बताए। निर्माण व्यवसायीको पृष्ठभूमि बोकेका वडाध्यक्ष पाण्डेले भने ‘म पनि ठकेरदा नै हुँ, पानी छर्कने, डाइभर्सन बनाउने काम सबै सम्झौतामै उल्लेख गरिएको हुन्छ। त्यसैले त्यस्तो माग गाउँलेले गर्दा अन्यथा मान्ने कुरै हुँदैन। किन काम रोकियो भन्ने विषयमा पूर्वाधार कार्यालयसँग छलफल  भइरहेको छ।  

पूर्वाधार कार्यालय उदयपुरले विवाद उत्पन्न भएपछि काम रोकिएको पुष्टि गरेको छ। कार्यालय प्रमुख (डिई) गंगासागर यादवले काम हुँदाहुँदै साइटमा विवाद उत्पन्न भएपछि केही दिनयता काम रोकिएको बताए। धमाधम भइरहेको काम एक्कासी रोकिएपछि सोधी खोजी गरेर समस्या समाधानको उपाय खोजिरहेको यादवले बताए। ‘सम्झौता भएपष्छि धमाधम काम भइरहेको थियो, एक्कासी काम रोकिएको खबर आयो’ डिई यादवले भने ‘कारण बुझ्दा स्थानीय बासी र ठेकेदारबिच केही असमझदारी भएको पाइयो। यसबारे दुवैतर्फ राखेर छलफल गर्ने काम भइरहेको छ।’ डिई यादवका अनुसार ठेकेदार कम्पनीले आफमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै निवेदनसमेत दिएको छ।  

ठेकेदार कम्पनी कृष्णलक्ष्मी निर्माण सेवा, काभ्रेले आफू र छोरामाथि वडाध्यक्ष पाण्डेले हातपात गर्न खोजेको भन्दै फागुन ३० गते कार्यालयलाई पत्र लेखी कारबाही गर्न माग गरेको यादवले बताए। निर्माण स्थलमा काम गर्ने वातावरण नभएको भन्दै आवश्यक शान्ति सुरक्षाको माग गर्दै अन्यथा काम गर्न नसक्ने बेहोराको निवेदन प्राप्त भएको डिई यादवले बताए। रोकिएको काम सुचारु गर्न निर्माण व्यवसायी र वडाध्यक्ष पाण्डेलाई सँगै राखेर काम गर्ने वातावरण बनाउन पहल गरिरहेको पनि उनले बताए।  

डिई यादवका अनुसार सो योजना ०७९ माघ ६ गतेको सम्झौता अनुसार मूल्य अभिवृद्धि करसहित ४ करोड २० लाख ३१ हजार १ सय ४६ रुपैँया ९१ पैसामा सम्पन्न गर्ने गरी कृष्णलक्ष्मी निर्माण सेवाले जिम्मा लिएको छ। प्रदेश सरकार, यातायात पूर्वाधार निर्देशनालयमार्फत पूर्वाधार कार्यालय उदयपुरको रेखदेखमा निर्माण हुने योजनाको झण्डै ४ सय मिटर हाराहारी नाला निर्माणसमेत भईसकेको छ। योजनाको करमगाछी–नयाँ बस्ती खण्डको यलम्बर मार्गमा दुईतर्फ लगभग ३ सय ५० मिटर नाला निर्माण सम्पन्न भईसकेको छ भने मार्गबीचमा पर्ने खोल्सीमा कल्भर्ट बनाउने काम पनि सुरु भईसकेको छ।

पूर्वाधार कार्यालयका योजना अधिकृत तुलसी सुबेदीले यलम्बर मार्गको नाला बनाईसक्न लागेर सबबेसको काम थाल्ने बेला बोक्सेचोक–गाईघाट खण्डको काम थाल्दा विवाद भएको बताए। सुबेदीका अनुसार बोक्सेदेखि पूर्व घलेटोल हुँदै गाईघाट जोड्ने खण्डमा दुईतर्फी झण्डै ४ सय मिटर होल खनेपछि विवाद भएर काम रोकिन पुगेको हो।  

प्रकाशित: ७ चैत्र २०७९ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App