४ वैशाख २०८१ मंगलबार
राजनीति

विकास निर्माणको काम अब गोरखाबाट सुरु भयो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालद्वारा गोरखा २ मा २० किलोमिटर सडक स्तरोन्नतिको शिलान्यास

पन्थडिही कटहरे हर्मी साहिलटार सडकको शिलान्यास गर्दै प्रधानमन्त्री दाहाल। तस्बिर: नरहरि/नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा मंगलवार २० किलोमिटर सडक स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका छन्।

पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक योजनाको शिलान्यास गर्दै उनले भने ‘विकास निर्माणको काम गोरखाबाट अब सुरु भयो।’

निर्वाचनका बेला गोरखा २ का विभिन्न गाउँमा पुगेर धुले सडक कालोपत्रे गर्ने बचन दिएका दाहालले प्रधानमन्त्री भएपछि सोही बाचा अनुसार सडक स्तरोन्नति गर्ने कामको सुरुवात भएको बताए।

‘यो शिलान्यास भन्दा पनि विकास निर्माणका कामको उद्घाटन भन्दा हुन्छ’ उनले भने। चुनावका बेला गरिएका धेरै बाचा पुरा गर्ने गरी अहिले योजना बनाईरहेको र आफूले मातहतका कार्यालयलाई निर्देशन दिईसकेको उनले बताए।

पन्थडिही कटहरे हर्मी साहिलटार सडकको शिलान्यास गर्दै प्रधानमन्त्री दाहाल। तस्बिर: नागरिक

८१ करोड ६१ लाख ६६ हजार रुपैयाँमा निर्माण हुन लागेको उक्त सडक खण्डले गोरखादेखि लमजुङ जिल्लालाई जोड्नेछ। सडक स्तरोन्नति गर्ने, दुई लेनको चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रेको काम हुने सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्रकुमार झा ले बताए। 

भारत सरकारको एक्जिम बैंक मार्फत निर्माण हुन लागेको उक्त सडक वूड हिल लामा जेभीले निर्माणको जिम्मा पाएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाले जनाएको छ। २०७९ फागुन ११ गते सम्झौता गरेको कम्पनीले ३० महिना भित्र काम सक्नुपर्नेछ। उक्त सडक बनेपछि चार लाख भन्दाबढि मानिस लाभान्वित हुने विभागले जनाएको छ।

पूजापाठसँगै शिलालेख अनावरण गरेर प्रधानमन्त्री दाहालले पन्थडिही कटहरे हर्मी साहिलटार सडकको शिलान्यास गरेका थिए।

‘सडक मात्रै भएर विकास नहुँदो रहेछ, शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर यहाँ नै सिर्जना गरेर बिदेसिएका जनशक्तिलाई यहाँ अवसर दिलाउने गरी हाम्रो ध्यान केन्द्रित हुनेछ’ प्रधानमन्त्री दाहालले भने।

आयात कम गर्दै निर्यात बढाउने गरी विकासका योजना अघि बढाउनुपर्ने देशभरिको आवश्यकता रहेको उनले बताए। 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्धारित समय भन्दा पनि अगावै गुणस्तरीय काम गरेर सिध्याउन निर्माण व्यवसायीलाई सुझाव दिए।

‘धेरै पहिलोदेखि जनताले कालोपत्रेको अपेक्षा गरेको सडक हो’ भौतिक पूर्वाधार मन्त्री समेत रहेका उनले भने ‘विकास निर्माणका काम मार्फत सरकारले समृद्धिको प्रक्रियालाई गुणात्मक परिवर्तन ल्याउनेछ।’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले २०७७/७८, ७८/७९ मा दुई पटक ठेक्का आह्वान गर्दा पनि यो सडक खण्डको काम सुरु हुन नसकेको बताए।

‘यो सडक २०६५ मा सुरु भएको हो, यो सडक स्तरोन्नति गर्न जति अरु सडकलाई कम मेहनत गरेँ होला’ उनले भने ‘तर के मिलेन अहिले कालोपत्रे हुने भएको छ, म धेरै खुसी छु।’

गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेले यो बेला नबनेको गोरखा अब कहिले बन्ने? भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत सबै पार्टीका नेताहरू गोरखाको विकास र समृद्धिमा एकजुट हुनुपर्ने बताए।

‘केही योजना ठेकेदारका कारण अलपत्र छन्’ उनले भने ‘पन्थडिही कटहरे हर्मी साहिलटार सडक जिम्मा लिने पनि गोर्खाली व्यवसायी हुनुहुन्छ, संभवत उहाँले समयभित्रै काम सक्नुहुनेछ।’

पालुङटार नगरपालिकाका प्रमुख बिबस चिन्तनले एक दशक अघिदेखि हिलो, धुलोले गिज्याईरहेको यो सडक कालोपत्रे हुनु स्थानीयकालागि खुसीको कुरा भएको बताए। साथै उनले काम छिटो सम्पन्न गर्न स्थानीय सरकारले सहयोग गर्ने बताए।

सडक विभागका महानिर्देशक सुशील ढकालले पन्थडिही कटहरे हर्मी साहिलटार सडक खण्डमा स्थानीयले स्वस्फूर्त जग्गा उपलब्ध गराएको भन्दै धन्यवाद दिए।

‘अन्तर निकायत्मक समन्वयका अभावले केही योजनाहरू समयमै पुरा भएका छैनन्’ उनले भने ‘यो सडक उच्च गुणस्तरका साथ समयमै पुरा हुनेमा आशावादी छु।’

प्रकाशित: ७ चैत्र २०७९ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App