१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशको नाम परिवर्तन हुँदैन: मुख्यमन्त्री कार्की

फाइल तस्बिर।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताएका हुन्।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए। नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे।

'कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो। ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन', उनले भने, 'हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न। बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस्।'

देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए। रासस

प्रकाशित: ५ चैत्र २०७९ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App