नेपालगन्ज— सरकारले मंगलबार संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुधबार दाङ, रोल्पा, प्युठान, अर्घाखाँची र बुटवलमा आक्रोशपूर्ण प्रदर्शन भएका छन् ।
पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम टुक्र्ययाएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले विधेयक दर्ता गरेपछि त्यसको विरोधमा प्रदर्शन भएका हुन् । प्रदर्शनमा सर्वसाधारण, विद्यार्थी, व्यापारी, नागरिककर्मी, सत्तासीन र विपक्षी दलका नेता–कार्यकर्तालगायत सहभागी छन् ।
सरकारबाट साबिकको पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा जिल्लाबासी आन्दोलित भएका हुन् । पूर्वघोषित संघीय प्रदेशको ढाँचाअनुसार सीमांकन कायम हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको छ ।
प्रदेश सीमांकन हेरफेर चित्त नबुझेको भन्दै बुधबार बिहानैदेखि प्युठान र अर्घाखाँची अनिश्चितकालका लागि बन्द घोषणा गरिएको छ । उद्योग वाणिज्य संघ र युवा संघको अगुवाइमा बन्द आह्वान गरिएको हो । बन्दप्रति राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । बन्दका कारण बुधबार सवारीसाधन पसल, शिक्षण संस्था, उद्योगधन्दा पूर्ण रुपमा बन्द भए ।
प्युठान सदरमुकाम खलंगा, बाग्दुला, बिजुवार, भिंग्री, बड्डाँडा, बाहाने, मच्छीलगायत क्षेत्रमा टायर बालेर नारा जुलुससहित सरकारी कदमको विरोध गरिएको छ । युवा, विद्यार्थी, व्यवसायी र नागरिक समाजका अगुवा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले जिल्लाका बजार, यातायात, शैक्षिक संस्था र कार्यालय बन्द गराए । व्यवसायीले स्वस्पूmर्त पसल बन्द गरी सरकारी कदमप्रति विरोध जनाए । प्युठानमा क्रियाशील राजनीतिक दल तथा सर्वपक्षीय निर्णयअनुसार प्रदेश टुक्र्याउने विधेयकको विरोधमा संघर्ष समिति गठन गरिएको छ । समितिको अध्यक्ष कृष्णबहादुर खड्का छन् । सत्तासीन र विपक्षी दल दुवले संयुक्त संघर्ष समिति बनाएका हुन् ।
पाँच नम्बर प्रदेशबाट अलग्याएर चार नम्बरमा गाभ्ने सरकारी प्रयासविरुद्ध रोल्पामा पनि आन्दोलन कडा बन्दै गएको छ । मंगलबार बन्द रोल्पा बुधबार पनि ठप्प भयो । रोल्पालीले स्वस्फूर्त आ–आफ्ना व्यवसाय बन्द गरेर आन्दोलन थालेका छन् । दाङमा पनि सरकारी प्रस्तावको विरोध भएको छ । प्युठानी र रोल्पालीप्रति ऐक्यबद्धता जनाउँदै दाङमा मंगलबारदेखि आन्दोेलन सुरु भएको हो । ‘रोल्पा र प्युठानीलाई हामीबाट अलग्याउने जुन सरकारी प्रस्ताव छ, यो दाङवासीलाई मान्य हुँदैन,’ आन्दोलनको संयोजन गरेका प्रादेशिक राजधानी सरोकार समूहका सदस्यसचिव सुदीप गौतमले भने । यसअघि प्रदेश विभाजनका क्रममा पाँच नम्बरबाट अलग्याइएको सल्यान र रुकुमको भागलाई पनि पाँच नम्बरमै ल्याउन दाङवासीको छ ।
बुटवलमा पनि पाँच नम्बर प्रदेश टुक्राउने विधेयकको विरोधमा बुधबार दिनभरजसो प्रदर्शन भयो ।
रोल्पा–प्युठान संयुक्त संघर्षमा
पाँच नम्बर प्रदेशबाट प्युठान र रोल्पालाई छुट्याउने सरकारी प्रस्तावको विरोधमा उत्रिने दुवै जिल्लाले संयुक्त रुपमा संघर्ष समिति बनाएका छन् । राजनीतिक दलका स्थानीय नेताले सरकारले उक्त प्रस्ताव फिर्ता नलिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कांग्रेस, प्युठानका नेता मुक्तिप्रसाद शर्माको संयोजकत्वमा दुई जिल्लाको संघर्ष समिति गठन भएको छ । सीमांकन हेरफेर जनताको भावनाविपरीत रहेको भन्दै दुवै जिल्लाले संयुक्त संघर्ष समिति बनाएको शर्माले बताए । उनका अनुसार बिहीबार दुई जिल्लाको सिमानामा पर्ने चतुर्भुजमा विरोधसभा गरिनेछ ।
प्रकाशित: १६ मंसिर २०७३ ०२:०४ बिहीबार