बुटवल—माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावलाई सदन र सडकबाट सशक्त प्रतिरोध गरेर असफल पार्ने बताएका छन्।
‘हामी पार्टी र क्षणिक स्वार्थबाट माथि उठेर राष्ट्र र जनताका पक्षमा निर्णय गर्छौं, प्रदेश टुक्र्याउन हुन्न भन्ने जनताको आवाजमा हाम्रो साथ छ’, अर्घाखाँची क्षेत्र नम्बर २ का सांसदसमेत रहेका नेता रायमाझीले नागरिकन्युजसँग भने ।
सदन र सडकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न शुक्रबार पाँच नम्बर प्रदेशमा क्रियाशील सबै पार्टीका सांसद र नेताको बैठक राखिएको जानकारी पनि उनले दिए । उनका अनुसार सो बैठकले भावी आन्दोलनको स्वरुप निर्धारण गर्नेछ।
रायमाझीले संविधान संशोधन प्रस्ताव माओवादी केन्द्रको नभई सरकारको भएको बताए । उनले सरकारले दर्ता गराएको संशोध प्रस्ताव पार्टीको निर्णयअनुसार नभएको स्पष्ट पारे । ‘पार्टीमा जानकारी भएको हो, निर्णय भएको छैन। पार्टीको तल्लो पंक्ति सीमांकन हेरफेर गर्नुहुँदैन भन्नेमा एकमत छ’, उनले भने, ‘कसैको स्वार्थ नहेरौं, मुलुकको स्वार्थ हेरौं ।’
प्रकाशित: १६ मंसिर २०७३ ०२:०१ बिहीबार