४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर-सफाई अभियानको एक सयौँ श्रृंखलामा तिलोत्तमामा पाँच घोषणा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाइ अभियानको एक सयौँ श्रृंखलाको अवसर पारेर बुधबार वातावरण सम्बन्धी पाँच घोषणा गरेको छ।

समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सर-सफाई अभियानको सयौँ श्रृंखलामा पुगेको अवसरमा आयोजित मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाँणले वातावरणसँग सम्बन्धित पाँच घोषणा गरेका हुन्।

नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्।

घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाँणको भनाइ छ।

फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सर-सफाई अभियानमा आसपासका अन्य पालिकाहरूलाई समेत जोड्न आग्रह गरे। सर-सफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले विशिष्ट पहिचान बनाएको बताउँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरू एकै ठाउँमा रहेको बताए।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले नेपालले दिगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सर-सफाई अभियान हरेक पालिकाले चलाउनु पर्नेमा जोड दिए।

तिलोत्तमाका निवर्तमान नगरप्रमुख समेत रहेका घिमिरेले आफ्नो कार्यकालमा सुरु भएको सर-सफाई अभियानलाई निरन्तरता दिएको भन्दै अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए।

बाग्मती सर-सफाई महा अभियानका संयोजक लिला मणि पौडेलले फोहोर मैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहाेर मैलाको दिगो व्यवस्थापन हुने बताए। उनले फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,उपप्रमुख जागेश्वरी चौधरी,अभियानका संयोजक कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायतले बोल्दै साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनु पर्ने बताए।

प्रकाशित: १ चैत्र २०७९ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App