१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवनमा प्रहरीले ताला फुटाएपछि १२ वटा क्याम्पसमा मनोयन दर्ता, ६ वटामा हुन सकेन

त्रिभूवन विश्वविद्यालयले देशभर चैत्र ५ गते स्ववियू निर्वाचन गर्न निर्देशन दिएको थियो। तर,उमेद्वारी दर्ता गर्नेदिन फागुन २६ गते नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि निर्वाचन अन्योल बनेको निर्वाचन प्रहरी प्रशासनले ताला खोलेपछि चितवनका केही क्याम्पसमा मनोनयन दर्ता भएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत टिकाराम रिजाल प्रशासनको सहयोगमा मंगलबार उमेद्वारी मनोनयन गरिएको बताउँछन्। ‘फागुन २६ गते हामीले १०देखि बजेसम्म उम्मेद्वारको मनोनयन गर्ने कार्यतालिका थियो, साढे ११ बजेतिर विद्यार्थी संगठनले ताला लगाएपछि निर्वाचनको गतिविधि अगाडि बढाउन सकेका थिएनौँ,’ उनले भने, ‘मंगलबार प्रहरी प्रशासनले ताला फोरेपछि हामीले मनोनयन दर्ता गर्‍यौँ।’

चितवन जिल्लामा ३ वटा आङ्गिक सहित १८ वटा क्याम्पसमा निर्वाचन हुँदैछ। त्यसमध्ये १२ वटा क्याम्पसमा विद्यार्थीले मनोनयन दर्ता गरिसकेका छन््। तर, ६ वटा क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन। जसका कारण विद्यार्थी संगठनहरु अन्योलमा देखिएको अखिल (क्रान्तिकारी)का नेता प्रकाश देवकोटा बताउँछन्। ‘निर्वाचन कार्यतालिका अनुसार हुनुपर्ने हो। अझै कार्यतालिका सार्वजनिक भएको छैन्,’ उनले भने, ‘निर्वाचन हुने नहुनेमा अन्योल भएर बसेका छौँ।’

चितवनका वीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस खैरहनी, चितवन इन्जिनेरिङ क्याम्पस रामपुर, जनआदर्श बहुमुखी क्याम्पस, शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर, माडी बहुमुखी क्याम्पस माडी, अमर जनशक्ति क्याम्पस पटिहानी, अरुणदय कलेज गितानगर, शहिद स्मारक कलेज शारदानगर, हरिकुमार स्मारक कलेज मंगलपुर, सर्वशान्ति कलेज कुरिन्टार क्याम्पसमा मनोनयन दर्ता भइसकेको छ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, मैयाँदेवी कन्या कलेज, प्रेम वस्ती बहुमुखी क्याम्पस, उमागढी आदर्श शेरचन र पूर्वि चितवनका भुवानी शंकर क्याम्पसमा अझै मनोनयन समेत हुन सकेको छैन। नेपाल समाजवादी विद्यार्थी यूनियनका केन्द्रिय सचिव अनुज जोशीले सहमतिको आधारमा चुनाव हुनुपर्ने बताउँछन्। ‘पूर्ण समानुपातिकमा निर्वाचन र निर्वाचनका लागि मात्रै भर्ना गरिएका फर्जि विद्यार्थी छनोट गर्नुपर्दछ,’ उनले भने, ‘प्रहरी प्रशासनको आधारमा गरिएको निर्वाचन हामीले स्वीकार गर्ने कुरा हुँदैन।’ निर्वाचनका लागि मात्रै पाँच सय रुपैयाँसम्ममा विद्यार्थी भर्ना गरिएको उनले आरोप लगाए।

नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले विरोध गरेपनि अन्य संगठनले भने निर्वाचनका लागि दबाब दिइरहेका छन्। प्रहरी प्रशासन लगाएर भएपनि निर्वाचन गराउनुपर्ने नेपाल विद्यार्थी संगठन चितवनका नेता राजन दाहाल बताउँछन्। ‘१४ बर्षपछि हुन लागेको निर्वाचन सबै क्याम्पसमा हुनुपर्छ,’ उनले भने ‘प्रहरी प्रशासन लगाएर भएपनि निर्वाचन गराउनै पर्छ।’

आङ्गिक क्याम्पसमा निर्वाचन हुने देखिपनि जिल्लाका प्रमुख पब्लिक क्याम्पसमा निर्वाचन अन्योलमा देखिएको छ। स्ववियू निर्वाचनबारे चितवनमा विद्यार्थी नेताहरुबीच सहमति जुट्न नसक्दा स्ववियू निर्वाचन अन्योलमा देखिएको हो। सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणि महत्तो प्रहरी प्रशासनको आडमा निर्वाचन गर्न नसक्ने बताउँछन्। ‘हामीले निर्वाचन गराउने हो। तर, प्रहरी प्रशासनको आडमा होइन,’ उनले भने ‘सहमतिका लागि बार्ता बसिराखेका छौँ।’ सप्तगण्डकी बहुमुखी क्याम्पसले यही अवस्थामा निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र समेत बुझाएको छ।

स्ववियू निर्वाचन हरेक दुई /दुई बर्षमा हुने निर्वाचन हो। तर, चितवनमा २०६५ सालपछि निर्वाचन हुन सकेको छैन। यसअघि तोकिएका २ वटा निर्वाचन अखिल (क्रान्तिकारी) विद्यार्थीसंगठनका कारण भएको थिएन। स्ववियू निर्वाचनले विद्यार्थीको क्षमता वृद्धि संगै शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा स्ववियू निर्वाचन समयमै हुनुपर्ने अनेरास्वियूका पूर्व जिल्ला अध्यक्ष प्रकाश आचार्य बताउँछन्।

जिल्ला प्रशासन कार्यालय चितवनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि निर्वाचन गर्न भनेको छ।  

प्रकाशित: ३० फाल्गुन २०७९ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App