१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तिब्बती नेतालाई भेटेको तस्बिर कम्प्युटरबाट जोडेर बनाइयो: नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको बताएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै इन्डिया फाउन्डेसनको कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।

 इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्बती निर्वासन सरकारका प्रमुख (प्रधानमन्त्री) लोप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बिहीबार बाहिर आएको थियो।

'नेपाली सञ्चारमाध्यमले पटक–पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ।

'दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन', कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तस्बिर जोडेर बनाइएको पनि कांग्रेसले दावी गरेको छ। 'कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति सम्वेदनशिल नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो', विज्ञप्तिमा भनिएको छ।

 नेपाली काँग्रेस पार्टी र सभापति देउवालाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु नपर्ने पनि कांग्रेसले भनेको छ। एक चीन नीति कांग्रेसको विश्वास भएको बताइएको छ। नेपाली कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ रहेको बताउँदै यस्ता भ्रामक र कपोल्कल्पित प्रचार गरी नेपाली काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यूपूर्ण भएको भन्दै कांग्रेसले निन्दा गरेको छ।

फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदीर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो। तिब्बती निर्वासन सरकारप्रमुखसँगको भेटबारे सरकार र देउवा दुवैले अस्वीकार गरेको भए पनि फोटो सार्वजनिक भएपछि उनीहरुबीच भेट भएको पुष्टि भएको छ।

प्रकाशित: २६ कार्तिक २०७३ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App