१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपरथी शाहीमाथि प्रधानसेनापतिको ‘प्रतिशोध’

नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गरेको छ। आर्थिक अनुशासनको आरोपमा पक्राउ गरिए पनि उनलाई सैनिक अदालतले अन्ततः ‘सैनिक विद्रोह (म्युटिनी) सम्बन्धी’ कसुरमा सेवाबाट हटाएको हो। उपरथी ताराध्जव पाण्डे नेतृत्वको सैनिक अदालतले बिहीबार शाहीलाई सेवाबाट हटाउने फैसला गरेको जंगी अड्डाले जनाएको छ।

यस्तै शाहीलाई सघाएको आरोपमा पक्राउ परेर पाँच दिनदेखि थुनामा राखिएका प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनामाथि आंशिक कारबाही भएको जनाइएको छ। ‘मुद्दाको फैसला भएको छ। फैसलाले शाही जर्साबलाई सेवाबाट हटाउने फैसला गरेको छ,’ सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘बाँकी दुईजना अधिकृतलाई सेवाबाट हटाइएको छैन। आंशिक कारबाही भएको छ।’ फैसलाबारे विस्तृत विवरण आफूकहाँ नआइसकेको उनले बताए।  

जंगी अड्डाले ‘असमयमै’ अवकाश थमाउँदा सर्वोच्च अदालत पुगेका शाही त्यहाँबाट सेवा निरन्तरताको आदेश लिई पुस १९ गते हाजिर हुन जंगी अड्डा गएका थिए। सोही क्रममा प्रधानसेनापति प्रभुराम शर्माको ठाडो आदेशमा उनलाई पक्राउ गरिएको थियो। त्यसयता दुई महिनादेखि उनी सैनिक हिरासतमा बन्दी अवस्थामा थिए। उपरथी शाहीमाथि ‘आर्थिक अनुशासनमा नबसेको’ उजुरीका आधारमा अनुसन्धान र तहकिकात गर्न पक्राउ गरिएको जंगी अड्डाले बताउँदै आएको थियो। उक्त कसुरअनुसारको अनुसन्धान सैनिक ऐन, २०६३ अनुसार अवैध रहेको भन्दै नागरिक दैनिकले समाचार प्रकाशन गरेको थियो। ऐनअनुसार उक्त कसुरमा दफा ६७ अनुसारको सैनिक अदालतमा मुद्दासमेत चल्न सक्ने अवस्था थिएन।  

नभन्दै शाहीमाथि जंगी अड्डाद्वारा उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वाइरी’ले आर्थिक अनुशासनमा नबसेको कसुरमा नभई ‘सम्पत्तिको हानिनोक्सानी सम्बन्धी’ कसुर र ‘सैनिक विद्रोह (म्युटिनी) सम्बन्धी’ कसुरमा अनुसन्धान र तहकिकात गरेको प्रमाण पाइएको छ। यिनै मुद्दाको अधीनमा रहेर उपरथी शाहीमाथि कारबाही गरिएको स्रोत बताउँछ।

‘प्रतिशोधको पराकाष्ठा’

पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापासँग निकट रहेकै कारण उपरथी शाहीमाथि प्रधानसेनापति शर्माले प्रतिशोध साँधिरहेको आरोप लागिरहेको थियो। जंगी अड्डाले अहिले शाहीलाई सेवाबाट हटाउन दुई महिना लामो प्रयास गरेपछि उक्त आरोप पुष्टि भएको सेनाका एक पूर्वअधिकारी बताउँछन्। ‘यो त सरासर प्रतिशोध नै हो नि, पहिले प्रमाणपत्रको त्रुटि देखाएर अवकाशपत्र थमाइयो। सर्वोच्च गएर सेवामा फर्किन लाग्दा कृत्रिम आर्थिक अनुशासनको मुद्दा खडा गरेर थुनामा राखियो,’ ती अधिकारी भन्छन्, ‘त्यो पनि पुष्टि नहुने र आफैं कमजोर कानुनी धरातलमा हुने भएपछि सैनिक विद्रोहदेखि सम्पत्तिको हानिनोक्सानीसम्मका कृत्रिम कसुर सिर्जना गरेर सेवाबाट हटाइएको छ। यो प्रतिशोधको पराकाष्ठा हो।’  

पक्राउ गर्दा शाहीमाथि आर्थिक अनुशासन उल्लंघनको आरोप लगाइएको थियो। जुन सैनिक ऐनको दफा ६२ अनुसार भ्रष्टाचारजन्य कसुर हुन्छ। जसको अनुसन्धान र तहकिकात कोर्ट अफ इन्क्वाइरीले नभई नेपाल सरकारले तोकेको महान्यायाधिवक्ताको अध्यक्षताको समितिले गर्ने प्रावधान छ। यस्तै उक्त अनुसन्धानका आधारमा मुद्दा पनि दफा ६७ अनुसारको अदालतमा नभई दफा ११९ को उपदफा १ बमोजिमको सैनिक विशेष अदालतमा चल्ने प्रावधान छ। जसको अध्यक्ष न्यायपरिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश हुने व्यवस्था छ।

यसरी कानुनी आधार नदेखिने अवस्था भएपछि जंगी अड्डाले अन्य कसुरको खोजी गर्दै दुई महिना बिताएको थियो। त्यसपछि सम्पत्तिको हानिनोक्सानीसम्बन्धी कसुरमा शाहीको घरमा खानतलासी गरिएको थियो भने फागुन १४ गते सैनिक अदालतमा मुद्दा चलाउँदा ऐनको दफा ३९ (ङ) अनुसार सैनिक विद्रोहको मुद्दा चलाइएको पाइएको छ। यस्तै उपरथी शाहीमाथि सैनिक विद्रोहको मुद्दा चलाउँदा उनी र विगतमा पूर्ववर्ती प्रधानसेनापति थापानिकट रहेका थप दुईजना अधिकृतहरू महासेनानी शाह र प्रमुख सेनानी तिम्सिनालाई पनि तानिएको थियो। तीनैजनालाई प्रतिशोधकै आधारमा मुद्दा चलाएर कारबाही गरिएको स्रोत बताउँछ।  

उता सैनिक अदालतले फैसला सुनाइरहँदा जंगी अड्डाले बिहीबार सर्वोच्च अदालतको आदेश बुझ्न इन्कार गरेको छ। पत्र बुझाउन आएका सर्वोच्च अदालतका तामेलदार बिहीबार दिउँसोभरी जंगी अड्डाको गेटमा बसेर साँझ पत्र नबुझाई फर्किएका छन्। शाहीसँगै सैनिक अदालतमा मुद्दा चलाइएका महासेनानी शाह र प्रमुख सेनानी तिमसिनाका परिवारले सर्वोच्चमा दिएको ‘बन्दी प्रत्यक्षीकरणसम्बन्धी’ छुट्टाछुट्टै रिटमा बुधबार न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले जंगी अड्डाका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।  

आदेशमा ‘आदेश जारी गर्नुनपर्ने भए आधार, कारणसहित म्याद सूचना प्राप्त भएको मितिले तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत... प्रेम शाहीसमेत भएको सैनिक विद्रोहको कसुरसमेत गरेको भन्ने व्यहोराको मुद्दाको मुख्यमुख्य कागजातहरूको प्रमाणित प्रतिलिपि र बन्दीसहित लिखित जवाफ पेस गर्नू’ भनिएको थियो।  

सोही आदेशको पत्र बोकेर सर्वोच्चका तामेलदारसहित बन्दीहरूका आफन्त बिहीबार बिहान १० बजे नै जंगी अड्डाको गेटमा पुगेका थिए। उक्त टोली दिनभर जंगी अड्डाको गेटमा पुग्दा जंगी अड्डाले पत्र नबुझी फर्काइदिएको छ। ‘दिनभर बस्दा पनि जंगी अड्डा र प्राड विवाक कसैले पनि पत्र बुझेनन्,’ बन्दीका एकजना आफन्तले भने, ‘अनेक बहाना बनाएर दिनभर कुराइयो। साँझ ५ बजेसम्म पनि नबुझेपछि तामेलदार फर्किनुभयो।’ 

प्रकाशित: १९ फाल्गुन २०७९ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App