१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्। गण्डकी प्रदेशसभालाई बुधबार सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भने, ‘विगत र वर्तमान सरकारले गरेका कैयौं कार्य सकारात्मक भए पनि जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ।’ उनले संविधानमा व्यवस्था गरिएका मौलिक हक, अधिकार व्यवहारमा अवलम्बन गर्न गराउन बाँकी रहेको औंल्याए।

त्यस्तै सेवा प्रवाह सरल र सहज बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। उनले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले जनतामा सुशासनको अनुभूति दिलाउने र प्रदेश मातहतका कार्यालयबाट प्रवाह हुने सेवामा जनताको पहुँच वृद्धि गरी सेवालाई झन्झटमुक्त बनाउनुपर्ने उल्लेख गरे। उनले भने, ‘सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई सम्मानजनक व्यवहारका साथ निष्पक्ष, प्रविधिमैत्री र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको मान्यताअनरूप प्रदेश प्रशासनमा सदाचार अभिवृद्धि गर्नुपर्नेछ।’

प्रदेश प्रमुख गुरुङले निर्माण सुरु भएका कैयौं योजना पूरा हुन नसक्दा सरकारप्रति विश्वास कम हुन जाने अवस्था रहेको भन्दै त्यसप्रति सरकार सचेत रहनुपर्ने उनले बताए। उनले प्रदेशवासीले सुलभ स्वास्थ्य सेवा पाएको अनुभूति दिलाउन पनि थप कार्य गर्नुपर्ने उल्लेख गरे। साथै प्रदेशका युवा रोजगारीका लागि देशबाहिर जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्यका लागि देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने अवस्था पनि उनले औंल्याए।

त्यस्तै, स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने काम पूरा गर्नुपर्ने, ट्र्याक खोलिएका सडकको स्तरोन्नति गर्नुपर्ने तथा बिग्रिएका सडक समयमै मर्मत र अद्यावधिक राख्न सरकार प्रयत्नशील हुनुपर्नेमा उनले जोड दिए। उनले हवाई सम्पर्क विस्तार गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यस्त बनाई प्रदेशले अधिकतम लाभ लिने वातावरण बनाउनुपर्ने बताए। यसैगरी गण्डकी प्रदेश र यसको राजधानी पोखरालाई पर्यटनको राजधानी बनाउन थप प्रयास गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

प्रमुख गुरुङले विकास र समृद्धि कुनै राजनीतिक दबाब समूह विशेषको निजी विषय नभएको बताए। विकासको फल कुनै खास राजनीतिक आस्थाका जनताले मात्रै प्राप्त गर्ने विषय नभएको बताउँदै उनले थपे, ‘सुशासन, विकास र समृद्धि सम्पूर्ण जनताको साझा विषय हो। त्यसैले विगतका सरकारले अगाडि बढाएका आयोजना अविछिन्न उत्तराधिकारीका रूपमा आएका सरकारले निरन्तरता दिनुपर्नेछ।’

प्रदेश प्रमुख गुरुङले संघीयता नयाँ अभ्यास भए पनि अहिले यसले जग तयार गरिसकेको बताए। पछिल्लो अवधिमा प्रदेश सरकार सञ्चालन गर्न र सेवा प्रदान गर्न भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार निर्माण भएको उल्लेख गर्दै उनले भने, ‘प्रदेश संरचना अहिले सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ।’ उनले वर्तमान प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदा जनतामा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे।

प्रदेश प्रमुख गुरुङले दीर्घ रोग लागेकाहरूको आर्थिक अभावमा उपचार नपाई मृत्यु हुने स्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे। साथै उनले कृषि क्षेत्रलाई यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गरि उच्च उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिमा आत्मनिर्भर उन्मुख बनाइने पनि बताए। त्यसका लागि बाह्रै महिना सिँचाइको व्यवस्था गर्ने, कृषि भूमिको खण्डीकरण रोक्ने, मलबिउ समयमै उपलब्ध गराउने, उत्पादनमा आधारित अनुदान दिनेलगायत कार्य हुने उनको भनाइ थियो। उनले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानलाई पूर्णता दिनेमा पनि विश्वास व्यक्त गरे।

प्रकाशित: १८ फाल्गुन २०७९ ००:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App