१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनसँग वार्ता मिति प्रस्ताव

काठमाडौं- पारवहन सम्झौताको सात महिनापछि प्रोटोकलको प्रारम्भिक खाका प्रस्तुत गर्दै नेपालले चीनसँग द्वीपक्षीय वार्ताका लागि मिति प्रस्ताव गरेको छ। वाणिज्य मन्त्रालयले प्रोटोकलमथि छलफल गर्न चीनसमक्ष कातिक २१–२३ को मिति प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता रविशंकर सैंजूले बताए। 'पारवहन सम्झौताअनुसार के–के विषय समावेश हुनुपर्छ भनेर चीनसमक्ष प्रारम्भिक खाका प्रस्तुत गरेका छौं,' उनले भने, 'चिनियाँ पक्षबाट जवाफ आउन केही केही समय लाग्ने छ। चिनियाँ पक्षसँग छलफल गरेर अघि बढ्ने छौं।'

सरकारले सैंजूकै नेतृत्वमा परराष्ट्र, भन्सार, अर्थ, कानुनलगायत मन्त्रालयका अधिकारीसँग छलफल गरी वार्ता तयारी  गरेको छ। वार्ता तिब्बतको ल्हासामा हुने छ।

सम्झौता सैद्धान्तिक पक्ष हो भने प्रोटोकल व्याहारिक पक्ष। चीन हुँदै तेस्रो मुलुकसँग हुने व्यापामा नेपाल–चीन सीमानाका, बन्दरगाह, माध्यमलगायत विषय प्रोटोकलमा समेटिने छ। 'कुन नाका, बन्दरगाह र माध्यम भन्ने विषयमा अहिले केही पनि उल्लेख गरेका छैनौं,' सैंजूले भने, 'चिनियाँ पक्षसँग छलफल गरेर नै यो विषय टुंगो  लाग्छ।'

नाका, बन्दरगाहको विषयमा चिनियाँ पक्षले प्रस्तुत गर्ने प्रारम्भिक खाकापछि नेपाली टोलीले त्यसको भ्रमण गरी अन्तिम टुंगो लगाउने छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा भएको ऐतिहासिक पारवहन सम्झौता कार्यान्वयनमा लैजान दुवै सरकारले गम्भीरता नदेखाएको भन्दै आलोचना हुँदै आएको थियो।

भूपरिवेष्ठित मुलुक नेपालले भारतबाट मात्रै तेस्रो देशसँग व्यापार गर्दै आएको छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App